मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०८०
बाँके ।
हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदै छ ।
आज तिहारको पहिलो दिन काग तिहार मनाइँदै छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठोमीठो खान दिएर काग तिहार मनाइन्छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशबाहकका रूपमा मान्ने गरिन्छ ।
आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रूपमा मानिन्छ ।
आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।