19 June 2024  |   बिहिबार, असार ७, २०८१

सरकारको स्पष्ट नीतिको अपेक्षामा पुस्तक तथा स्टेशनरी व्यवसायी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०  

व्यापारसँगै सेवा पनि । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाले पठन संस्कृतिको विकासका लागि हरेक वर्ष सरस्वती पूजा एवम् पुस्तक दिवसका अवसरमा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।

 

 

 

 

 

 

 

बाँके ।

‘चर्को ब्याजदरले अरू व्यवसायी जस्तै पुस्तक तथा स्टेशनरी व्यवसायीको व्यवसाय पनि नराम्रो गरी बिथोलिएको छ । हिजोको दिनमा हामी जति ब्याज बुझाउँथ्यौँ अहिले त्यसको दोब्बर बढी तिर्नुपरिरहेको छ ।’ पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका अध्यक्ष किशोरकुमार आचार्यले भने ।

उनले भनेजस्तै मुलुकका अन्य व्यापार व्यवसायीजस्तै पुस्तक तथा स्टेशनरी व्यवसायीले पनि पछिल्लो समयमा आर्थिक संकटको सामना गरिरहनुपरेको गुनासो गरेका छन् । आर्थिक मन्दी, बैंकको चर्को ब्याज, व्यवसायमा देखिएका नीतिगत अप्ठेरालगायतका समस्या व्यवसायीहरू भोगिरहनुपरेको उनीहरूको गुनासो छ ।

महासंघ बाँकेका अध्यक्ष आचार्यले बैंकको चर्को ब्याज दरबाट व्यवसायीमा नकारात्मक असर परेको बताउँछन् । ‘अहिले नाफा कमाउने कुरा होइन व्यवसाय कसरी जोगाउने भन्ने ध्याउन्नमा हामी छौँ,’ अध्यक्ष आचार्यले भने । अध्यक्ष आचार्यका अनुसार पुस्तक व्यवसायीले यतिबेला चर्को ब्याजदरसहित आर्थिक संकट, सीमापारको अवैध व्यापारको मार र विद्यार्थीको विदेश पलायनजस्ता चुनौती खेपिरहनुपरेको छ ।

‘ब्याजदरको समस्याका साथै आर्थिक संकटका कारण पनि ग्राहक घटेका छन् । हिजो धेरै किन्नेले अहिले थोरै किनेर काम चलाइरहेका छन्,’ अध्यक्ष आचार्यले भने, ‘त्यस्तै विद्यार्थीको विदेश पलायनले पनि हामीलाई समस्या पारेको छ । उच्च माध्यामिक तहपछि विद्यार्थी संख्या घट्दो क्रममा छ ।’

केही नीतिगत समस्याका कारण पनि पुस्तक तथा स्टेशनरी व्यवसायी मारमा परिरहेको उनको भनाइ छ । कच्चा पदार्थ आयातमा लगाइने गरेको उच्च भन्सार दरका कारण उत्पादित बस्तुको मूल्य बढी पर्ने गरेको उनले बताए । ‘प्रकाशनसँग सम्बन्धित कच्चा पदार्थ आयात गर्दा १३ प्रतिशत भन्सार तिर्नुपर्छ,’ अध्यक्ष आचार्यले भने, ‘तर त्यसैबाट उत्पादित तयारी बस्तु आयात गर्दा जम्मा ५ प्रतिशत मात्र भन्सार लिइने गरेको
छ ।’ यस्तो विरोधाभाषी सरकारी भन्सार नीतिका कारण यहाँको बस्तु उत्पादन महँगो पर्ने गरेको उनले बताए ।

व्यवसायमा समस्या धेरै भए पनि व्यवसायीहरूले धैर्य नगुमाएको उनले जिकिर गरे । व्यवसायीहरू अझै आशावादी रहेको उनले बताए । ‘हामी पनि अन्य व्यवसायी जस्तै विभिन्न संकटबाट गुज्रिएका छौँ,’ उनले भने, ‘तर अन्य व्यवसायीको तुलनामा पुस्तक तथा स्टेशनरी व्यवसायी पलायनै हुनुपर्ने अवस्था भने अझै आएको छैन । व्यवसाय गरेर दालभात खान र बच्चाबच्ची पढाउन व्यवसायी साथीहरू समर्थ छन् ।’

नेपालमा पुस्तक पठन संस्कृति हराउँदै जान थालेकोमा उनले चिन्ता व्यक्त गरे । यही कारण पाठ्यपुस्तक बाहिरका पुस्तकको बिक्री स्वाट्टै घटेको उनको अनुभव छ । ‘अहिलेसम्म सिजनमा हुने पाठ्यपुस्तकको बिक्रीले धानिरहेको छ,’ अध्यक्ष आचार्यले भने, ‘अन्य पुस्तक बिक्री तथा स्टेशनरी सामानको बिक्रीवितरण त ह्वात्तै घटेको छ ।’

नेपालमा अहिलेसम्म पुस्तक प्रकाशन र वितरणसम्बन्धी स्पष्ट नीति बन्न नसकेका कारण पनि केही अलमल रहेको उनको गुनासो छ । ‘सरकारले कुनै पनि पुस्तक आयातमा भ्याट नलिइने निर्णय गरेको छ,’ उनले भने, ‘तर व्यवहारमा त्यस्तो देखिएको छैन ।’ सरकारले पुस्तक प्रकाशन तथा वितरणसम्बन्धी स्पष्ट नीति बनाएर त्यसको कडाइसाथ पालना गर्नुपर्ने उनको सुझाव छ ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका संस्थाक अध्यक्ष वसन्त लामिछानेले पुस्तक तथा स्टेशनरी व्यवसायीले नीतिगत समस्या झेल्दै आएको बताए । व्यवसायीले नीतिगत समस्या समाधानका लागि निरन्तर आवाज उठाउँदै आए पनि राज्यका निकायले सुन्दै सुनेको उनले गुनासो गरे । नीतिगत समस्या समाधान ठोस रूपमा नहुँदासम्म पुस्तक तथा स्टेशनरी व्यवसाय संरक्षित व्यवसाय बन्न नसक्ने र साना व्यवसायीहरू मर्कामा पर्ने लामिछानेको भनाइ छ ।

त्यस्तै, महासंघका पूर्वअध्यक्ष नारायण ज्ञवालीले पुस्तक तथा स्टेशनरी व्यवसायीले व्यवसायका माध्यमबाट शिक्षाको पैरबी गरिरहेको दाबी
गरे । ‘राज्यको पहुँचभन्दा बाहिर रहेका ठाउँमा समेत पुस्तक तथा स्टेशनरी व्यवसायीले शैक्षिक जागरणको काम गरिरहेका छन्,’ उनले भने, ‘यसर्थ राज्यले पनि यो व्यवसायलाई सेवामुलक व्यवसायका रूपमा हेर्नुपर्छ ।’ सेवामूलक व्यवसाय भएका कारण पुस्तक तथा स्टेशनरी व्यवसायीहरूले पनि व्यावसायिक हकहितसँगै अभिभावक र विद्यार्थीहरूलाई प्रदान गर्ने सेवा सुविधाबारे ख्याल गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, महासंघका अर्का पूर्वअध्यक्ष हेमराज पौडेलको भनाइ पनि पूर्वअध्यक्ष लामिछानेको भनाइसँग मिल्दोजुल्दो छ । उनी पनि सरकारको नीतिगत अस्पष्टताका कारण व्यवसायी मारमा परिरहेको ठान्दछन् । ‘हामी व्यवसायीहरूले गुणस्तरहीन उत्पादनलाई निरुत्साहित गर्दै स्वदेशी प्रकाशन, स्टेशनरी वा मसलन्द सामग्रीको बिक्रीवितरणमा जोड दिइरहेका छौँ,’ उनी भन्छन्, ‘तर राज्यले स्पष्ट नीति नलिएका कारण हाम्रा कैयौँ समस्या समाधान हुन सकेका छैनन् ।’

अर्का पूर्वअध्यक्ष बुद्धिप्रसाद सुवेदी सरकारले व्यवसायीका कुरा सुन्नेमा आशावादी छन् । ‘स्पष्ट पुस्तक नीति नहुँदा त्यसको मारमा व्यवसायी परेको अवगत नै छ,’ उनी भन्छन्, ‘तर मलाई विश्वास छ सरकारले अब हाम्रा कुरा पनि सुन्नेछ र समस्या समाधानको पहल गर्नेछ ।’
त्यस्तै, पूर्वअध्यक्ष शालिक सुवेदीले सरकारले विदेशी उत्पादकलाई नियन्त्रण गर्न नसकेको आरोप लगाए । नेपाली प्रकाशनसँग सम्बन्धित कच्चापदार्थमा सरकारले सहुलियत दिनुपर्ने उनको धारणा छ । उनी भन्छन्– ‘अब नेपाली प्रकाशक र उद्योगलाई संरक्षण गर्नेगरी कच्चा पदार्थमा सहुलियत दिन सरकार सकारात्मक देखिनुपर्छ ।’

महासंघका प्रथम उपाध्यक्ष सागर ज्ञवालीका अनुसार, खुला सीमानाका कारण पुस्तक तथा स्टेशनरी व्यवसायी मारमा परेका छन् । यसको नियन्त्रणका लागि व्यवसायीले सरकारको ध्यानार्कषण गराउँदै आएको उनले बताए । ‘अहिले पनि सीमापारिबाट अवैधरूपमा स्टेशनरी सामग्री भित्रिनु राम्रो होइन,’ उनले भने, ‘सरकारले चरम आर्थिक संकटको सामना गरिरहेका व्यवसायीका पक्षमा नीति निर्माण गर्नुपर्ने आवश्यकता छ ।’

प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०     8:55:55 AM  |