17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

प्रेमिकाको ब्वाइफ्रेन्डद्वारा प्रिन्सिपल सर्राफको हत्या, तीन भारतीयसहित ६ जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०८०  

बारा ।

कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्यामा संलग्न ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रिन्सिपल सर्राफ एक महिलासँग विवाहोत्तर प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का ब्वाइफ्रेन्डले सर्राफको हत्या गरेका
हुन् ।

बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि रिलेसनसीपमा
थिइन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार प्रेसर गरेका थिए । तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।

एसपी काफ्लेका अनुसार महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् ।

सर्राफ हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।

घटनामा संलग्न तीन नेपाली र तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाको परिचय नखुलाएको प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०८०     9:16:48 AM  |