13 July 2024  |   शनिबार, असार ३०, २०८१

पछि स¥यो भिटामिन ‘ए’ कार्यक्रम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०८०  

काठमाडौँ ।

सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

तर, यस वर्ष दसैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख डा. विवेकलाल कर्णका अनुसार दुईदिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।

यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरिने डा. कर्णले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०८०     8:28:41 AM  |