बाँके ।
दसैंका लागि जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीको मूर्ति बुधबार एकादशीको दिन बाँकेमा शान्तिपूर्वक विसर्जन गरिएको छ । मूर्ति बिसर्जन गर्नु पहिले बुधबार नेपालगन्जमा नगर परिक्रमा गरी राप्ती नदी तथा स्थानीय मानखोलामा मूर्तिहरू विसर्जन गरिएको थियो ।
मूर्ति विसर्जनको क्रममा कुनै अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले जिल्लाभरको सुरक्षा व्यवस्था कडा पारेको थियो । बिहानैदेखि चोक चोकमा तथा मूर्ति विसर्जनका लागि लैजाने रूटहरूमा ठूलो संख्यामा प्रहरी तैनाथ थिए ।
कम्दीघाटमा रहेको राप्ती नदीमा दसैंमा स्थापना गरिएका करिब ४ सय भन्दा बढी संख्यामा मूर्ति विसर्जन गरिएको छ । कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएका यस्ता मूर्ति मानखोला तथा राप्ती नदीको अगैया घाटमा समेत विसर्जन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
उनका अनुसार दुर्गा भगवतीका मूर्तिहरू शान्तिपूर्वक विसर्जन गर्नको लागि सुरक्षा प्रबन्ध मिलाउन १ हजार ५ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाइएको र सुरक्षाको थप प्रबन्ध मिलाउन ड्रोन क्यामराबाट निगरानी राखिएको थियो ।
स्थानीय प्रशासनले सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थानमा केन्द्रित गरेर बढी सतर्कता अपनाएको थियो । ती स्थानमा १२ घन्टा अघिदेखि नै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको बाँकेका प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
‘उच्च सुरक्षा सतर्कताकै कारण बुधबार मूर्ति विसर्जनको क्रममा कुनै अप्रिय घटना घटेनन् । शान्तिपूर्ण रूपमा नै मूर्तिहरू विसर्जन गरिएको छ’ उनले भने । बाँकेमा दसैंको घटस्थापनाको दिनमा स्थापना गरिएका दुर्गा भगवतीको मूर्ति एकादशीको दिन बाजगाजासहित नगर परिक्रमा गराएर राप्ती नदी र मान नदीमा लगेर बिसर्जन गर्ने परम्परा रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्