8 September 2024  |   आइतवार, भदौ २३, २०८१

पाल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबै एकै परिवारका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक ६, २०८०  

बुटवल ।

आइतबार पाल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबै एकै परिवारका भएको खुलेको छ। आइतबार साँझ बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको जीप पाल्पाको रानीमहलबाट सदरमुकाम तानसेन फर्किँदै गर्दा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासी पूर्व देवचुली–१६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी पत्नी ५६ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना घिताल, नातीहरु ११ वर्षीय सोबिस धिताल, र सबिनाका अर्का अढाई वर्षीय छोरा रहेका छन्।

त्यसैगरी कृष्णबहादुरका आफन्त लमजुङ वेसीसहर २ भकुण्डेकी ५५ वर्षकी चुना धितालको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।

दुर्घटनामा कृष्णबहादुरका छोरा ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन्। उनी जीपका चालक हुन्। उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनीहरु सबैको घटना स्थलमै मृत्यु भएको हो। रानीमहल घुम्न गएको बेला उनीहरु दुर्घटनामा परेका हुन्। तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट जीप १ सय मिटर तल खसेको थियो।

दुर्घटना भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट गएको प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा नेतृत्वको टोली, सशस्त्र र नेपाली सेनाले संयुक्त रुपमा मृतक र घाइतेको उद्धार गरेको थियो।

जीप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

प्रकाशित मितिः सोमवार, कार्तिक ६, २०८०     10:25:16 AM  |