अवैध सामान भेटिन्छ, तस्कर भेटिँदैनन्



बाँके ।

चोरी पैठारी नियन्त्रण गर्ने जिम्मेवारी पाएका निकायले अवैध सामान त बरामद गर्छन् तर कहिल्यै त्यसमा संलग्न तस्करलाई पक्राउ गर्दैनन् । तस्करीको सामान बरामद गरेको विवरण सार्वजनिक गर्ने सुरक्षा निकायको सधैँको ‘रेडिमेट’ जवाफ हुन्छ, ‘चोरी पैठारी गरी ल्याइएका सामानहरू बेवारिसे अवस्थामा बरामद ।’

तस्करी गर्ने र त्यसरी भित्रिएको सामान खरिद गर्ने व्यापारी पक्राउ नपर्दा दिनानुदिन तस्करको मनोबल बढ्ने गरेको छ । सकभर ‘सेटिङ’मा तस्करी गर्ने ‘सेटिङ’ भत्किएको अवस्थामा मान्छे पक्राउ नगरे पनि बेवारिसे भन्दै सामान बरामद गर्ने देखिएको छ ।

हालै नेपालगन्ज उपमहानगरपालिका–१ राना चोक नजिकबाट ठूलो मात्रामा खाद्यान्न बरामद गरिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले १ लाख ४२ हजार रुपैयाँबराबरको ७१ बोरा चामल र ७० हजार रुपैयाँ बराबरको १४ बोरा चिनी गरी कुल २ लाख १२ हजार रुपैयाँको खाद्यान्न बरामद गरेको हो ।

गत असोज २९ गते साँझ करिब ६ बजेतिर भारतबाट अबैध रूपमा भन्सार छलेर चोरी पैठारी गरी ल्याइएका सामान बेवारिसे अवस्थामा रहेको छ भन्ने सूचना प्राप्त भएपछि कार्यालयबाट खटिएको टोलीले बरामद गरेको वडा प्रहरी कार्यालयले प्रष्ट्याएको छ । प्रहरीले सामान कस्को हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

व्यक्ति पक्राउ परेका अधिकांश तस्करीका घटनामा भरियाका रूपमा गरिब तथा विपन्न परिवारका व्यक्ति जीविकोपार्जनका लागि लाग्ने गरेको पाइएको बताए । ‘पक्राउ परेका धेरैले अरूका सामान ढुवानी गरेका मात्रै हुन्छन् । त्यस्तालाई फसाएर के गर्ने ?,’ सुरक्षा स्रोत भन्छन्, ‘अनि सामान बेवारिसे बनाई भन्सार कार्यालयमा बुझाउनुपर्ने अवस्था पनि यही कारण आएको हो ।’

दैनिक गुजाराका लागि साइकल, मोटरसाइकल र पिठ्युँमा चिनी, लत्ताकपडालगायत बोकेर ल्याउने स्थानीयलाई मात्रै छेकवार गर्ने गरेको आरोप लाग्दै आएको छ । नेपालगन्जमा चिनी, रासायनिक मल, सिमेन्ट, छड, टीभी, पंखा, दाल, साइकलका पार्टपुर्जा, नुन, कपडा, चप्पल, खेलौना, खाने तेल, बिस्कुट, माछा, चल्लालगायतका सामान भित्रिने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक ५ गते आइतबार