21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

नौबस्ता बाल सुधार गृहमा थपिए बालबन्दी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक २, २०८०  

नेपालगन्ज ।

बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारको चार वटा ब्लकमध्ये एउटा ब्लकमा बालबन्दी राख्न सुरु गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको केन्द्रीय बाल न्याय समितिले सुधार गृह सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा रुपन्देहीको भैरहवाबाट १३ हेटौँडाबाट १८ , पर्साबाट १५ जना गरी बालसुधार गृहबाट १८ वर्षमाथिका अहिले ४६ जना बालबन्दीलाई ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाँकेको डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहभित्र रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्तालाई नौबस्तामा राख्न कारागार विभागबाट अनुमति मागिएको छ । ‘बालसुधार गृहमा रहेका १८ वर्षमाथिका ४४ जनालाई क्षेत्रीय कारागारमा बनाइएको बाल सुधार गृहमा सारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

केको डुडुवामा रहेको बाल सुधार गृहमा असोज ४ गते राति बालबन्दीका बीचमा आपसमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । चार जना भागेकोमा तीन जना अझै सम्पर्कमा आएका छैनन् ।

त्यहाँ १८ वर्षमाथिका १ सय ६५ जना छन् । देशभरकै कारागारमा कैदी बन्दीको संख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको थियो । नौ बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको छ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक २, २०८०     7:29:52 AM  |