कोहलपुरमा बिमाका लागि नक्कली बिहे गरेर हत्या घटनाः सम्पत्ति शुद्धीकरण मुद्दा समेत दायर



ठगी, लिखत र संंगठित अपराध मुद्दामा योजनाकारद्वय सञ्जीव अर्याल, दीपक केसी, मृतककी नक्कली श्रीमती सपना मल्ल, बिमा एजेन्ट सरदार अहमद खाँ र बस चालक टोपबहादुर रानाक्षेत्री पुर्पक्षका लागि अहिले थुनामा रहेका छन् । उनीहरूविरुद्ध शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंले समेत सोमबार विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दासमेत दायर गरेको छ । २ करोड ५० लाख रुपैयाँ बिमा रकम हात पार्न उनीहरूले नक्कली बिहे गराएर कोहलपुरका एक किशोरको हत्या गरेका थिए ।

कृष्ण ओली । बाँके ।

कोहलपुरको बहुचर्चित बिमा रकम हात पार्न नक्कली बिहे गरेर हत्या गरेको घटनामा संलग्नविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ । सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंले घटनामा संग्लन ६ जनाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो ।

योजनाकार कोहलपुर–१० का सञ्जीव अर्याल, श्रीमती बनेकी कोहलपुर–२ की सपना मल्ल, कोहलपुर–१५ का बिमा एजेन्ट सरदार अहमद खाँ, सहयोगी कोहलपुर–११ का दीपक केसी, छविकुमारी खत्री र बस चालक बैजनाथ–८ का टोपबहादुर क्षेत्रीविरुद्ध मुद्दा दायर गरिएको हो ।
सपनाविरुद्ध २ करोड ५० लाख, सञ्जीवविरुद्ध ८० लाख ३६ हजार, छविकुमारीविरुद्ध १७ लाख ४६ हजार, दीपकविरुद्ध ६० लाख, सरदार अहमदविरुद्ध २० लाख बिगो कायम गरी मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी कृष्णप्रसाद मैनालीले जानकारी दिए ।

छविकुमारी श्रीमती बनेकी सपनाकी आमा हुन् । २ वैशाख २०७८ राति कोहलपुर–२ बस्ने सर्जन विकको सम्झना–च्यामा सडकको बैजनाथ–६ लालपुरमा बसको ठक्करबाट घाइते बनाएपछि किचेर हत्या गरिएको थियो । योजनाबद्ध रूपमा नै टोपबहादुरले भे१ख २४९१ नम्बरको बसले भे१०प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनलाई ठक्कर दिएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानबाट घटनाको दिन सर्जनलाई योजनाकार सञ्जीवले बियर खुवाएको खुलेको थियो । नशा लागेपछि खोलामा बालुवा लोड गर्ने भन्दै योजनाकार सञ्जीव र सर्जन फरक–फरक मोटरसाइकलमा गएका थिए ।

केही अघि बढेपछि सञ्जीवले तीव्र गतिमा आफ्नो मोटरसाइकल अघि बढाए, सर्जन बिस्तारै अघि बढे । बाटोमा बस रोकेर राखिएको थियो । सर्जनको मोटरसाइकल देख्नेबित्तिकै पूर्वयोजनाअनुसार बसले उनलाई पछ्याएर ठक्कर दिएको थियो ।

ठक्कर दिँदा मृत्यु हुने पक्का नभएपछि उनलाई पछि तानेर टायरले किचेर हत्या गरिएको सिआइबीको अनुसन्धानमा खुलेको छ ।
सञ्जीव नेतृत्वको गिरोहले सपनाको सर्जनसँग कानुनी रूपमा बिहे गराई दुर्घटना भएको देखाएर उनको हत्या गरी बिमा रकम निकाली बाँडेपछि मात्रै घटनाको रहस्य बाहिरिएको थियो ।

उक्त समूहले रिलायन्स लाइफ इन्स्योरेन्स कोहलपुर शाखामा २०७७ फागुन २८ गते सर्जनको नाममा २ करोड ५० लाख रुपैयाँको सावधिक जीवन बिमा र म्यादी जीवन बिमा गरेका थिए । बिमा गर्दा इच्छाइएको व्यक्तिमा उनीहरूले सपना मल्लको नाम राखेका थिए, जो सर्जनकी कागजी रूपमा श्रीमती हुन् ।

तत्कालीन समयमा दुर्घटना भनेर यसै छाडिए पनि नेपाल पुनर्बिमा कम्पनीले शंका लागेर प्रहरीमा उजुरी दिएपछि गतवर्ष मात्र यो घटना बाहिर आएको थियो । कुनै पनि बिमा कम्पनीले बिमाको जोखिम बहनका लागि पुनर्बिमा गरेको हुन्छ । यसको पुनर्बिमा नेपाल रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीमा गरेको थियो ।

एक सामान्य मजदुरको साढे दुई करोड रुपैयाँको बिमा हुनु, बिमा गरेको चार दिनपछि विवाह दर्ता हुनु र त्यसको एक महिनामै उनको शंकास्पद मृत्यु हुनुले घटना सुनियोजित हुन सक्ने भएकाले पुनर्बिमाले रिलायन्सलाई यसबारे जानकारी गराएपछि सो कम्पनीका उच्च अधिकारीले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले घटनाको अनुसन्धान गरेपछि बिमाकै लागि सर्जनको हत्या भएको पुष्टि भएको थियो ।
बिमा गरेपछि २८ फागुन २०७७ मा सर्जन र सपना विवाह दर्ता गर्न वडा कार्यालय पुगेका थिए । सपनासँग सर्जनको भेट भएको त्यो नै पहिलो पटक थियो । त्यतिबेला बिहेका लागि सर्जनको उमेर पुगेन, कर्मचारीले फर्काइदिए ।

२ चैत २०७७ मा मात्र उनीहरूको विवाह दर्ता भएको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानका खटिएका प्रहरीका अनुसार त्यसपछि भने उनीहरूको कहिल्यै भेट भएन । सिआइबीले उनीहरूलाई बाँके, काठमाडौंलगायतका स्थानबाट पक्राउ गरेर १३ साउन २०७९ मा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।

गत असोजमा सिआइबीले सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा ठगी, लिखत र संंगठित अपराध मुद्दा दायर गरेको थियो । तत्कालीन जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको इजलासले योजनाकारद्वय सञ्जीव अर्याल, दीपक केसी, मृतककी नक्कली श्रीमती सपना मल्ल, बिमा एजेन्ट सरदार अहमद खाँ र बस चालक टोपबहादुर रानाक्षेत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए । उनीहरू अहिले पनि कारागारमै रहेका छन् ।

घटनामा संलग्नताको बलियो प्रमाण नभएको भन्दै ललिता सापकोटा, जानकी रिजाल र छविकुमारी खत्रीलाई साधारण तारेखमा छाड्ने आदेश भएको थियो । उनीहरूविरुद्ध बाँकेमा समेत कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा दायर गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रबार