एक कक्षा कोठा एक बालमैत्री धारा



गणेश रावत । कोहलपुर ।

कोहलपुर नगरपालिका–१४ हवलदापुरमा अवस्थित राम माध्यमिक विद्यालयले ‘एक कक्षाकोठा, एक खानेपानी धारा’ सञ्चालनमा ल्याएको छ । कोहलपुर नगरपालिकामा पहिलोपटक नौलो प्रयोगका रूपमा राम माविले बालमैत्री धारा सञ्चालनमा ल्याएको हो ।

विसं २०२८ सालमा स्थापना भएको राम माध्यमिक विद्यालय अहिले एउटा नमुना विद्यालयको रूपमा स्थापना हुन सफल भएको छ । पहिला विद्यालयको भौतिक अवस्था नाजुक थियो । अहिले पहिलाभन्दा धेरै सुधार भएको प्रधानाध्यापक जितेन्द्र यादवले बताए । ‘पहिला खानेपानीको निकै समस्या थियो । म आएदेखि पहल गर्दै जाँदा अहिले खानेपानीको समस्या समाधान भएको छ,’ प्रधानाध्यापक यादवले भने ।

विद्यालयले एक कक्षा कोठा एक धाराको अवधारणाअनुरुप नौवटा धारा जडान गरेको छ, जसमा चौबीसै घन्टा पानी आउँछ । ‘सबै कक्षाकोठालाई पु¥याउने हो भने अझै १३ वटा धारा आवश्यक पर्छ,’ प्र्रअ यादवले भने, ‘त्यसका लागि पनि पहल गरिरहेको छु ।’
प्रधानाध्यापक यादव २६ वर्षदेखि यो विद्यालयमा कार्यरत छन् ।

स्थानीय सरकार र विभिन्न सरोकारवाला निकायसँगको पहलमा अहिले विद्यालयमा शुद्ध खानेपानी पु¥याउन सकेको उनले बताए । विद्यालयमा कक्षा १ देखि १२ सम्म पठनपाठन हुन्छ ।

विद्यालयमा खानेपानी मात्रै नभई अपांगमैत्री शौचालय पनि सञ्चालनमा ल्याएको प्रधानाध्यापक यादवले बताए । विद्यालयमा विद्यार्थीको संख्या अनुपातमा शौचालयको अभाव छ । तर, अब यसका लागि पनि पहल गरिरहेको यादवले बताए । विद्यालयमा नयाँ अवधारणा कार्यान्वयनमा ल्याएपछि विद्यार्थीहरूको आकर्षण बढेको उनले दाबी गरे ।

विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । विद्यालयमा १२ सय विद्यार्थी अध्ययनरत छन् । ‘प्रत्येक कक्षालाई धारा बनाउँदा कुल २२ वटा धारा आवश्यक पर्छ,’ उनले भने । हाल प्रयोगमा आएका धारा चालू आर्थिक वर्षमा विद्यालयले प्राप्त गरेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको प्रधानाध्यापक यादवले बताए ।

ती सबै बालमैत्री धारा हुन् । स्वच्छ, सफा र फिल्टर गरेको पानी अहिले विद्यार्थीले पिउन पाएका छन् । धारा निर्माण गरेपछि विद्यार्थीहरूको आकर्षण मात्रै बढेको छैन, त्यसको प्रत्यक्ष प्रभाव शिक्षण र सिकाइ क्रियाकलापमा समेत परेको यादवले बताए ।

‘फिल्टरसहितको पानी त्योे पनि कक्षा कोठाकै अगाडि पाउँदा विद्यार्थी खुसी छन्,’ कक्षा अगाडि निर्माण गरिएको धाराको पानी पिउँदै गरेकी एक छात्राले भनिन्, ‘पहिला खानेपानीको दुःख थियो । एउटै धारामा भीड लाग्नुपर्ने अवस्था थियो । अहिले भने धेरै सजिलो भएको छ ।’

विद्यार्थीकै लागि भनेर विद्यालयले कक्षा कोठा अगाडि नै बालमैत्री धारा निर्माण गरिदिँदा विद्यार्थीहरूमा उत्साह थपिएको छ । अब कुनै पनि विद्यार्थीले खानेपानी पिउनकै लागि भीड गर्नुपर्ने वा पालो कुर्नुपर्ने अवस्थाको अन्त्य भएको प्रधानाध्यापक यादवको भनाइ छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० असोज २० गते शनिबार