21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

सहज बन्दै नेपालगन्जको अवस्था

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज १९, २०८०  

स्थानीय प्रशासनले बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज क्षेत्रमा जारी गरिएको कफ्र्यु हटाएको छ । बिहीबार राति ८ बजेदेखि आज बिहान ६ बजेसम्मलाई कफ्र्यु यथावत् राखिएको छ । नेपालगन्जबासीले सामाजिक सद्भावको कामना गरिरहेका छन् । केही दिनयता तनाव झेलिरहेको नेपालगन्ज सामान्य अवस्थामा फर्किन खोजिरहेको छ । रातिको समयमा लगाइएको कफ्र्यु हटाउने वा यथावत् राख्ने विषयमा आज स्थानीय प्रशासनले निर्णय गर्नेछ ।
नेपालगन्ज ।

मंगलबार दिउँसोदेखि स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु बिहीबारदेखि खुकुलो पारेपछि नेपालगन्जको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको छ । नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कफ्र्यु जारी गरेको थियो । स्थानीय प्रशासनले बिहीबार बिहानदेखि भने कफ्र्युको स्वरूप बदलेको छ ।

यसअघि २४सैं घण्टा कफ्र्यु जारी भएकोमा बिहीबार बिहानदेखि कफ्र्युको समय आधा घटाएर जनजीवन सामान्य अवस्थामा फर्काउने प्रयास थालिएको हो । दिउँसोको समयमा कफ्र्यु हटेसँगै नेपालगन्जमा बिहीबार अन्य दिनको तुलनामा चहलपहल बढेको थियो । केही दिनदेखि धार्मिक तनाव झेलिरहेको नेपालगन्जको अवस्था सामान्य बन्दै जान थालेको छ ।

स्थानीयहरू समेत सद्भावको कामना गरिरहेका छन् । बिहीबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले विज्ञप्ति जारी गरेर कफ्र्युको समय घटाएर निषेधाज्ञा जारी गरिएको जानकारी दिएका थिए ।

विज्ञप्तिमा असोज १८ गते बिहान ८ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज क्षेत्रमा लगाइएको कफ्र्यु हटाउने र १८ गते साँझ ८ बजेदेखि १९ गते बिहान ६ बजेसम्म कफ्र्यु रहने उल्लेख गरिएको छ । कफ्र्यु हटाइएको दिउँसोको समयमा निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्रको क्षेत्रमा भेला, बैठक, सभा, जुलुस, पोस्टर पम्पलेट, जस्ता प्रचार सामग्री प्रयोग गर्न टाँस्न नपाइने, हुलमा जम्मा हुन वा एक ठाउँमा ५ जनाभन्दा बढी जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

दिउँसोको समयमा कफ्र्यु हटेपछि आंशिक रूपमा उद्योग व्यवसाय सञ्चालनमा आएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले जानकारी दिए । केही उद्योग व्यवसाय बिहीबार खुलेपछि ग्राहकहरूको चहलपहल भने न्यून मात्रामा रहेको उनले बताए ।

‘केही व्यवसायी साथीहरूले कफ्र्यु हटेपछि पसल खोल्नुभएको थियो,’ अध्यक्ष धामीले भने, ‘ग्राहकहरूको चहलपहल भने एकदमै न्यून मात्रामा देखियो । अझै व्यवसायीहरू पर्ख र हेरको अवस्थामा हुनुहुन्छ ।’ नगरका अन्य स्थानमा पसलहरू सञ्चालमा आएपनि त्रिभुवन चोक, सदरलाइन, इदगाह रोड, सुनारमन्डी क्षेत्रमा भने बिहीबार समेत सुनसान रहेको थियो ।

नेपालगन्ज बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधानहरू निर्बाध रूपमा सञ्चालनमा आएका थिए । जमुनाहा नाकाबाट समेत सहज रूपमा आवतजावत भएको स्थानीय प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले कफ्र्यु हटे पनि बिहीबारको अवस्थामा सुरक्षाकर्मीकै नियन्त्रणमा नै रहेको बताए । नगरका संवेदनशिल क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको उनले जानकारी दिए ।

‘दिउँसोको समयमा कफ्र्यु हटाए पनि हामी अलर्ट छौं,’ डिएसपी डाँगीले मिसन टुडेसँग भने, ‘अवस्था प्रहरी नियन्त्रणमै छ ।आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ कफ्र्यु हटाएको मौका छोपेर कोही कसैले सद्भाव भड्काउन खोजेमा कानुन अनुसार कारबाही गर्ने चेतावनी जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको छ ।

दुई धार्मिक समुदायबीच झडप भएपछि अवस्थालाई थप बिग्रन नदिनको लागि बाँके प्रशासनले मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कफ्र्यु जारी गरेको थियो ।

कफ्र्युले जनजीवन प्रभावित बनाएको भन्दै बुधबार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले कफ्र्युलाई क्रमश खुकुलो बनाउँदै हटाउनको लागि स्थानीय प्रशासनलाई आग्रह गरेको थियो ।

प्रकाशित मितिः शुक्रबार, अशोज १९, २०८०     9:05:20 AM  |