जनश्रमदानमा जुटे बाँसगढीबासी



मधुर पौडेल । बाँसगढी ।

श्रमदानबाटै बाँसगढी नगरपालिकाभित्रका कच्ची सडकहरू मर्मत गर्न थालिएको छ । नेपालीहरूका महान् चाडबाडलाई ध्यानमा राखेर बाँसगढी नगरपालिकाको अगुवाइमा श्रमदानमार्फत कच्ची सडकहरू मर्मत थालिएको हो ।

सोही क्रममा सोमबार वडा नम्बर ४ का विभिन्न कच्ची सडकहरू मर्मत गरिएको वडाध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले जानकारी दिए । ‘जनता र प्रतिनिधिको एकता जनश्रमदानसहितको विकासमा सहभागिता’ भन्ने नाराका साथ श्रमदान थालिएको उनले बताए ।

कच्ची सडकमा वडाको बजेटबाट हालिएको ग्राबेल मिलाउने काममा लागि स्थानीयहरूसहित श्रमदान गरिएको वडाध्यक्ष बाँस्तोलाले जानकारी दिए ।

‘बर्खाको पानीले बिगारेका कच्ची सडक मर्मतका लागि समितिमार्फत काम भए पनि बजेट अभाव हुँदा ग्राबेल मात्रै सडकमा हालिएको थियो,’ उनले भने, ‘त्यसले मानिसहरूलाई आवतजावतमा समस्या भएपछि स्थानीयसहितको सहभागितामा भएको श्रमदानबाट मिलाइएको हो ।’
यो अभियानलाई नगरका अन्य वडाहरूमा समेत विस्तार गरिने बाँसगढीका नगर प्रमुख खड्कबहादुर खड्काले बताए ।

आम नागरिकमा पनि आफूले गर्नसक्ने सामान्य कामसमेत आफैं गर्नुको साटो सामाजिक सञ्जालमा हाल्ने प्रवृत्ति बढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘आफूले केही नगर्ने बानीको विकास हुँदै गएको छ । आफूले गर्न सक्ने काम सामूहिक तवरले आफैँ गर्ने गरी नागरिकलाई समेत दायित्वबोध गराउन श्रमदान कार्यक्रमको आयोजना गरिएको हो,’ नगर प्रमुख खड्काले भने, ‘चाडबाड नजिकिँदै जाँदा गाउँबाट पढ्न र कमाउन बाहिर गएकाहरूलाई गाउँ फर्किंदा आवतजावतमा सहज हुन्छ ।’

बाँसगढी नगरपालिकाले वडामा रहेका कच्ची सडकहरूलाई दसैं अगाडि नै मर्मत गरेर आवतजावत सहज बनाउने जनाएको छ । श्रमदान कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीयबासी, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार