शिक्षक आन्दोलनमा कोहलपुरका नगर प्रमुख आचार्यको समर्थन



कोहलपुर ।

शिक्षा विधेयकको विरोधमा शिक्षकहरू देशव्यापी आन्दोलनमा छन् । उनीहरूले शैक्षिक हड्तालसम्मको योजना अघि सारेका छन् । यस्तो बेला विभिन्न पालिकाहरूले शिक्षकहरूको आन्दोलनले पढाई प्रभावित हुन नहुने भन्दै पढाउन निर्देशन दिएका छन् ।

तर कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको धारणा शिक्षकहरूको समर्थनमा आएको छ । सामाजिक सञ्जाल फेसबुकमा बुधबार लेख्दै उनले आफ्नो धारणा प्रस्ट्याएका हुन् ।

नगर प्रमुख आचार्यले ‘धेरै साथीहरूको जिज्ञासा छ, तपाईं स्थानीय सरकार प्रमुखको नाताले शिक्षकहरूको आन्दोलनलाई कसरी लिनुभएको छ ?’ भन्दै प्रश्न गरेकोबताए ।

उनी लेख्छन्, –‘यो विषयमा मेरो संक्षिप्त धारणा छ– आजको यो अवस्थाको सर्जक अहिलेकै मुख्य दल र मुख्य नेतृत्वले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न शिक्षकहरूलाई अनेकन पटक राजनीतिमा प्रयोग गर्नुको उपज हो ।’

आचार्यले समस्याका सृष्टिकर्ताहरू नै सरकारमा रहेको बेला शिक्षकका जायज माग पनि पूरा गर्ने कर्तव्य अहिलेका राजनीतिक दल र उनै नेतृत्वको भएको बताएका छन् ।

‘त्यसैले शिक्षकहरूको निर्णायक आन्दोलनमा पूर्ण समर्थन छ ताकि आगामी दिन शिक्षा, शिक्षक, विद्यार्थी, अभिभावक, दल र सरकारहरूका बीच फेरिफेरि आन्दोलनको अपेक्षा गर्न नपरोस् †’

प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार