नेपालगन्ज ।
हिन्दु नारीहरूको विशेष पर्व हरितालिका तीजका अवसरमा नेपालगन्जका होटल र रेष्टुरेन्टहरूमा चहलपहल बढेको छ । चाडपर्वकै कारण थोरै भए पनि व्यापार बढ्ने आशा थपिएको होटल व्यवसायीहरूले भनाइ छ ।
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेल चाडबाडहरू नजिकिएसँगै होटलहरूमा केही चहलपहल बढेको बताउँछन् । ‘ठ्याक्कै धेरै बढेको त छैन तर कहीँकतै आशा जगाउने गरेको छ,’ अध्यक्ष कँडेलले भने ।
बजारमा किनमेल गर्नेको चाप थोरै भए पनि बढेको छ । तीजका सामानको व्यापार बढेको छ भने दसैँ लक्षित व्यापार मेला पनि सुरु हुनथालेका छन् । चाडपर्वका बेला व्यापार व्यवसाय बढाउने उद्देश्यले मेला महोत्सवहरूको आयोजना पनि हुने गरेको छ ।
तर आन्तरिक उत्पादन नहुँदा यस्ता मेला महोत्सवहरूको प्रभावकारिता खासै देखिने गरेको छैन । ‘चाडपर्वका बेला बजारमा उपभोग्य वस्तुदेखि गरगहनासम्मको माग बढेको त छ तर अपेक्षाकृत छैन,’ सुनाखरी कटेजका प्रबन्ध निर्देशक घनश्याम शर्माले भने । थोरै भए पनि व्यापार बढेको उनी बताउँछन् । तर यो चाप थप बढ्नुपर्ने उनको भनाइ छ ।
चाडपर्वमा मनोरञ्जन गर्ने संस्कारका कारण वस्तुको माग बढेको छ । तर बजारको माग अनुसारका धेरै वस्तु आयात गर्नुपर्ने अवस्था छ । जसले गर्दा देशको बाह्य क्षेत्रमा दबाब परेको सरोकारवालाहरूको भनाइ छ । बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न उत्पादन बढाउनेदेखि खपत घटाउनेतर्फ भने ध्यान दिनुपर्ने उनीहरूको तर्क छ ।