23 September 2023  |   शनिबार, अशोज ६, २०८०

मेजर पण्डितको शव काठमाडौँ लगियो, काठमाडौंमै पोस्टमार्टम गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ २८, २०८०  

बाँके ।

डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति मेजर विमल पण्डितको शव काठमाडौँ लगिएको छ ।

भदौ १० गतेदेखि सम्पर्कविहीन भएका काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका ३८ वर्षीय पण्डितको शव १६ दिनपछि मंगलबार भेरी नदीमा फेला परको थियो ।

पण्डितको शव बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए ।

भदौ १० गते अपराह्न साढे ४ बजे ‘इभिनिङ वाक’का लागि आफ्ना सुरक्षा गार्डलाई समेत निलिई हिँडेका मेजर पण्डितको शव मंगलबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ करवगाडस्थित चिन्डेबगरनजिक भेरी नदीको किनारमा फेला परेको थियो ।

मेजर पण्डितको मृत्युको कारण भने खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ २८, २०८०     10:29:09 AM  |