बाँके ।
कोहलपुर नगरपालिका–५, शान्तिनगरस्थित नव कालिका लघु उद्यम प्रवद्र्धन सहकारी संस्था लिमिटेडले जुत्ता उत्पादन सुरु गरेको छ ।
एक महिनादेखि विद्यालयका विद्यार्थी, विवाह–पार्टीका लागि उपयुक्त हुने जुत्ता उत्पादन गरेको सहकारीका अध्यक्ष जुना विकले बताइन् ।
सहकारीलाई उत्पादनमुखी बनाउनका लागि जुत्ता उत्पादन सुरु गरिएको उनको भनाइ छ । बचत र ऋण लगानीमा मात्रै केन्द्रित नभएर उत्पादनमा पनि जोड दिने उद्देश्यले जुत्ता उत्पादन थालिएको अध्यक्ष विकले बताइन् ।
उक्त सहकारी महिलाहरूले सञ्चालन गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गरेपछि महिलाहरूका लागि जुत्ता बनाउने तालिम सञ्चालन गरिएको थियो । तीमध्ये १० जना महिला उत्कृष्ट ठहरिएका थिए जसमध्ये ६ जनाले अहिले जुत्ता उत्पादनमा काम गरिरहेका छन् ।
अध्यक्ष विकका अनुसार स्थानीय महिलाहरूले रोजगारी पाएका छन् भने जुत्ताको राम्रो फिनिसिङका लागि भारतबाट समेत कामदार मगाइएको छ । यसरी उत्पादन भएका जुत्ता गुणस्तरीय र टिकाउ भएको अध्यक्ष विकको दाबी छ ।
उत्पादनसँगसँगै अब आफूहरूले बजारीकरणमा ध्यान दिइरहेको उनले जानकारी दिइन् । स्वदेशी उत्पादनलाई सबैले प्राथमिकता दिनुपर्ने विकको भनाइ छ । महिलाहरूले उत्पादन गरेको जुत्ता अवलोकन गर्न पूर्वमन्त्रीसमेत रहेकी लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) सहकारीमा पुगिसकेकी छिन् ।
‘महिलाहरू मिलेर चलाएको सहकारीले उद्योग क्षेत्रमा हात अगाडि बढाउनु एकदमै राम्रो कुरा हो,’ उनले भनिन्, ‘महिला दिदीबहिनीहरूले अगाडि बढाएको काम एकदमै प्रशंसनीय छ ।’ प्रदेश सांसद नमुनाले आगामी दिनहरूमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत
जनाइन् ।









प्रतिक्रिया दिनुहोस्