कर अधिकृतको झोलामा २६ लाख !



बाँके ।

नेपालगन्ज विमानस्थलको टर्मिनल भवनको गेटमै सोमबार अन्य दिनजस्तै सुरक्षाकर्मीहरूले एक्सरे मेसिनबाट यात्रुहरूका झोला चेकजाँच गरिरहेका थिए । यात्रुहरूका झोला चेकजाँच गर्ने क्रममा बिहान साढे ६ बजेतिर एक्सरेले एउटा झोलामा पैसाहरू रहेको देखायो ।

एक्सरेमा खटिएका सुरक्षाकर्मीहरू चनाखो बनेर तत्कालै शंकास्पद झोलालाई नियन्त्रणमा लिए । सुरक्षाकर्मीहरूले सम्बन्धित व्यक्तिलाई झोलामा के छ भनेर खोलेर देखाउन आग्रह गरे । दुई जना व्यक्तिहरूले आफूहरू सरकारी कर्मचारी भएको भन्दै झोलामा ६÷७ लाख रुपैयाँ रहेको बताए । त्यहाँ खटिएका सुरक्षाकर्मीहरू उनीहरूको कुरामा विश्वत हुन नसकेर झोला खोलेरै देखाउन आग्रह गरे । तर सरकारी कर्मचारीहरू भने बोर्डिङ पास लिएर आएपछि झोला खोलेर देखाउने भन्दै श्री एयरलाइन्सको काउन्टरतर्फ लागे ।

सुरक्षाकर्मीले झोलामा पैसा जस्तो शंकास्पद बस्तु एक्सरेमा देखाएको भन्दै आफ्नो कमान्डरलाई खबर गरिसकेका थिए । उनी आएर अघिका एक जना सरकारी कर्मचारीलाई श्री एयरलाइन्सको काउन्टर नजिकैबाट नियन्त्रणमा लिए ।

पक्राउ पर्ने आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा थिए । सापकोटा पक्राउ परेपछि उनीसँगै रहेका अर्का कर अधिकृत दीपक पौडेल भने तत्कालै फरार भए । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिलाई झोला खोल्न पठाएपछि झोलामा २६ लाख नेपाली रुपैयाँ रहेको भेटियो । त्यतिबेला बिहानको ७ बजिसकेको थियो ।

सरकारी कर्मचारीको झोलामा २६ लाख रुपैयाँ भेटिएपछि विमानस्थल प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेमा खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं जान लागेका सापकोटालाई चेकजाँच गर्दा स्रोत नखुलेको २६ लाख रकम फेला परेको बताए ।

‘विमानस्थलभित्र सुरक्षाकर्मीले चेकजाँचका क्रममा सोधपुछ थालेपछि सापकोटाको साथमै रहेका अर्का कर्मचारी पौडेल सुटुक्क भाग्न सफल भए,’ उनले । डिएसपी डाँगीकाअनुसार नगदसहित पक्राउ परेका सापकोटालाई जिल्ला प्रहरी कार्यालय पु¥याएर स्रोत खुलाउन समय दिइएको थियो । तर, उनले आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेको उनले बताए ।

‘स्क्यानिङ मेसिनबाट चेकजाँच गर्ने क्रममा सापकोटाको झोलामा लाखौं रकम फेला परेपछि सुरक्षाकर्मीले उहाँलाई सोधपुछ गर्ने क्रममा केही पछाडि रहेका पौडेल सुटुक्क निस्किएर भाग्न सफल हुनुभएको रहेछ,’ उनले भने, ‘उहाँ केही पछाडि रहेको हुँदा प्रहरीले पनि उहाँहरू सँगसँगै आएका कर्मचारी र साथीहरू हो भन्ने भेउ पाउन नसक्दा उहाँ उम्कन सफल भएको भन्ने छ ।’

कर अधिकृत पौडेल उम्किन सक्ने अवस्था पनि नरहेको उनले बताए । प्रहरी कार्यालयमा हाजिर नभए खोजेर पक्राउ गरिने प्रहरीको भनाइ छ । ‘एउटा राष्ट्र सेवक कर्मचारी भाग्न नसुहाउने कुरा हो,’ डिएसपी डाँगीले भने, ‘हामीलाई विश्वास छ उहाँ प्रहरीमा आफैं आउनु हुनेछ र अनुसन्धानमा सघाउनुहुनेछ ।’

आन्तरिक राजस्व कार्यालय तुलसीपुरका अनुसार पक्राउ परेका सापकोटाको पुख्र्यौली घर विराटनगर र फरार रहेका पौडेलको घर स्याङ्जा हो । अहिले दुवै कर अधिकृतको घर काठमाडौंमा रहेको बताइएको छ ।

अनुगमनपछि बिदामा घर जाँदाजाँदै पक्राउ

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ परेका र फरार रहेका आन्तरिक राजस्व कार्यालय तुलसीपुरका दुवै कर अधिकृत बाहिरी जिल्लाको अनुगमन गरेर घर बिदामा जान लागेको खुलेको छ ।

कर अधिकृतद्वय सापकोटा र पौडेल चार दिनअघि रूकुम पश्चिमको आठबीसकोट क्षेत्रमा अनुगमन गर्नका लागि खटिएको आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख टीकाराज चौलागाईंले जानकारी दिए ।

पहाडी जिल्लाको अनुगमनबाट आइसकेपछि आफूहरूलाई धपेडी भएको भन्दै उनीहरूले घर बिदामा जान अनुरोध गरेको उनले बताए । ‘उहाँहरू तीन–चार दिनअगाडि अनुगमनमा गई फर्किएपछि घर बिदामा जाने भन्नुभएको थियो, त्यहीअनुसार बिदा दिइएको हो,’ कार्यालय प्रमुख चौलागाईंले भने, ‘आज (सोमबार) स्रोत नखुलेको त्यति धेरै रकमसहित विमानस्थलबाट पक्राउ परेको खबर सुनेपछि अचम्म लागेको
छ ।’

उनीहरू दुवै जना पाँच महिनाअघि सरूवा भएर कर कार्यालय तुलसीपुरमा आएका थिए । रूकुम पश्चिम कर्णाली प्रदेशमा पर्ने भए पनि पहिलेदेखि नै आन्तरिक राजस्व कार्यालय तुलसीपुरले त्यो क्षेत्र हेर्दै आएको छ ।

अहिले पनि लुम्बिनी प्रदेशका दाङ, रोल्पा, प्युठान, रूकुम पूर्वका साथै कर्णाली प्रदेशका सल्यान र रूकुम पश्चिमलाई कार्य क्षेत्र बनाई आन्तरिक राजस्व कार्यालय तुलसीपुरले काम गर्दै आएको छ ।

सापकोटा अख्तियारको जिम्मामा

नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालाई बाँके प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जमा बुझाएको छ ।

आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारबाहीका लागि सापकोटालाई सोमबार नै प्रहरीले अख्तियार नेपालगन्जको कार्यालयमा बुझाएको हो । श्री एयरलायन्सको उडानबाट नेपालगन्जदेखि काठमाडौँ जाँदै गरेको अवस्थामा सोमबार बिहान उनको झोलामा रहेको २६ लाख नगदसहित प्रहरीले पक्राउ गरेको थियो ।

बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले रकमको स्रोत खुलाउन नसकेपछि कर अधिकृत सापकोटालाई आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जमा बुझाइएको बताए ।

उनका अनुसार अब आवश्यक अनुसन्धान र कारबाहीसमेत अख्तियारबाट नै हुनेछ । अख्तियार नेपालगन्ज कार्यालयले रकमसहित पक्राउ परेका कर अधिकृतमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २६ गते मंगलबार