कोहलपुरमा आत्महत्या न्यूनीकरणसम्बन्धी अन्तक्रिया



शिवानी बिक । कोहलपुर ।

आत्महत्या न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताएका छन् ।

‘आशा जगाऔँ, जीवन बचाऔँ,’ भन्ने मूल नाराका साथ आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले आत्महत्या रोकथाम गर्न व्यापकरूमा जनचेतनाका कार्यक्रम गर्नुपर्ने बताए ।

प्रत्येक वडामा आत्महत्या न्यूनीकरण र रोकथामका लागि इलाका प्रहरीसँग सहकार्य गरेर सचेतनाका कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए । आत्महत्या न्यूनीकरणका लागि यस्ताखाले कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख आचार्यको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ मनोचिकित्सक डा. मोहन बेल्बासेले मानिस कसरी डिप्रेसनमा गइरहेका छन् भन्ने विषयमा जानकारी दिएका थिए । ‘डिप्रेसन एक मानसिक स्वास्थ्य विकार हो,’ उनले भने, ‘डिप्रेसनबाट ग्रस्त मानिसमा धेरै कुराप्रति लगाव हुँदैन ।’

डिप्रेसनमा गएको मानिस हरेक समय उदास रहने गरेको उनले बताए । यस्तो समस्या केही दिनका लागि मात्र नभई लामो समयसम्म रहिरहने पनि उनले बताए ।

आत्महत्याका कारण हरेक वर्ष १० लाख मानिसको मृत्यु हुने गरेको जानकारी दिए । डिप्रेसनबाट बच्नका लागि आफूलाई डर, चिन्ता, तनाव पीर, झैझगडा आदिबाट टाढा रहन र सधैं शान्त अनि आनन्दित हुन उनले आग्रह गरे ।

सोही कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालयका डिएसपी सुन्दर तिवारीले राष्ट्रिय रूपमा स्पष्ट कार्ययोजना र आत्महत्या किन बढिरहेको छ भन्ने विषयमा एकीकृत सूचनाको अभाव भएको बताए ।

आत्महत्याको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम नै सबैभन्दा प्रभावकारी उपाय रहेको उनको भनाइ थियो । जनचेतनाका लागि प्रहरीको १११६ नम्बरका बारेमा जानकारी राख्ने, किशोरकिशोरीलाई विद्यालय स्तरमा मनोपरामर्श स्थापना गराउने, रोजगारीको सिर्जना गर्ने र सवेदनशील सूचना सम्प्रेषण नीति अपनाउनुपर्नेमा उनले जोड दिए ।

हरेक वर्ष सेप्टेम्बर १० तारिख अर्थात भाद्र २४ गते विश्व आत्महत्या दिवस विभिन्न सचेतनाका कार्यक्रमहरू सञ्चालन गरी मनाउने गरिन्छ । उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २५ गते सोमबार