बाँके ।
शुक्रबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगन्जनजिकै भएको बस दुर्घटनामा परी बर्दियाका–७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ठाकुरबाबा नगरपालिकाका ६ र बारबर्दिया नगरपालिकाका एक जना गरी ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
दुर्घटनामा परेर बसमा सवार ठाकुरबाबाकै २९ जना घाइते भएका छन् । शुक्रबार राति साढे ८ बजेको समयमा राजमार्गमा बिग्रेर रोकिराखेको ट्रकमा दाङबाट बर्दिया जाँदै गरेको बस ठोक्किएर दुर्घटना भएको थियो ।
बसमा शुक्रबार बिहानै दाङ भ्रमण गएको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली रहेको थियो । दाङबाट घर फर्किने क्रममा उनीहरू सवार बस सडकमै रोकिराखेको ट्रकमा ठोक्किएको थियो ।
ज्यान गुमाउनेहरूमा भ्रमण टोलीमा रहेका ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशिराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू र ७० वर्षीय चानुराम थारू रहेका छन् । यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जोगबहादुर चन्द र सहचालक बारबर्दिया नगरपालिका–७ रम्मापुरका ३४ वर्षीय वसन्त कार्की रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
उनीहरू सबैको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर शुक्रबार राति नै मृत्यु भएको थियो । बेतहनी सामुदायिक वनका पदाधिकारीलगायत उपभोक्ता सदस्यहरू गरी ३९ जना शुक्रबार बिहानै अवलोकन भ्रमणका लागि दाङ गएका थिए । स्थानीयका अनुसार वन समितिका पूर्वपदाधिकारी र वर्तमान अध्यक्षसमेत दुर्घटनामा परेका छन् ।
एउटै वडाका ५ जनासहित पालिकाका ६ जनाको मृत्यु भएपछि सिङ्गो ठाकुरबाबा नगरपालिका शोकमा डुबेको छ । सबैभन्दा बढी ९ नम्बर वडा बेतहनी गाउँमा मानवीय क्षति भएकाले गाउँ नै सुनसान रहेको छ ।
शोकको घडीमा शनिबार विभिन्न संघसंस्थाले पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेका थिए । घटनाले पालिका नै शोकमा डुबेको ठाकुरबाबा नगरपालिका प्रमुख तिलकराम लम्सालले जानकारी दिए ।
‘दुर्घटनाबाट सबैभन्दा बढी क्षति वडा नम्बर ९ ले व्यहोरेको छ । वडामात्रै होइन पालिका नै शोकमा डुबेको छ,’ उनले भने, ‘एकदमै दुःखद घटना भयो ।’ घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानबाट रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना भएको देखिए पनि दुर्घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान थालिएको कोहलपुर प्रहरीले जनाएको छ । बिग्रेर सडकमै रहेको ट्रकका चालकलाई समेत शनिबार कोहलपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्