खजुरा तीज महोत्सवमा ‘वारि’ र ‘पारि’को प्रतिस्पर्धा



खजुरा (बाँके) ।

बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा हरेक वर्षजसो तीजको रन्कोले तातेको हुन्छ । प्रायजसो मुख्यबजारमा महोत्सवको आयोजना हुने गरेको छ । खजुरा बजारबाहेक गाउँगाउँमा पनि स–सानो सांस्कृतिक कार्यक्रम हुँदै आएको छ ।

यसपटक खजुराको मुख्य बजारमा मात्र नभएर दोस्रो ठूलो बजारका रूपमा रहेको खजुरा एक नम्बर बजारमा बाँके जिल्लाकै ठूलो धनराशिको पुरस्कारसहितको भव्य कार्यक्रमको आयोजना हुने भएको छ । एक नम्बर बजारमा खजुरामा क्रियाशील युवाहरूको समूहले तीज महोत्सवको आयोजना गरेको हो ।

आदर्श युवा सञ्जालले आयोजना गर्ने तीज महोत्सव बाँके जिल्लाकै उत्कृष्ट कार्यक्रम हुने सञ्जालका अध्यक्ष कल्पना तामाङले जानकारी दिइन् । मुख्य बजारमा हुने खजुरा क्षेत्र संरक्षण समितिको आयोजनामा र एक नम्बर बजारमा आदर्श युवा सञ्जालको आयोजनामा एकै किसिमको कार्यक्रम हुन लागेको छ ।

दुवै टिमले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् । सामूहिक तीज नृत्य प्रतियोगिता र एकल नृत्य प्रतियोगिता दुवै आयोजकका मुख्य कार्यक्रम हुन् । दुवै टिमका कार्यक्रमले तीजमा प्रतियोगीभन्दा पनि वारि पारिको प्रतिस्पर्धा भइरहेको भान भएको स्थानीय बताउँछन् ।

खजुरा क्षेत्र संरक्षण समिति र आदर्श युवा सञ्जालले मिलेर एकै स्थानमा तीजको कार्यक्रम गरेको भए खजुराको एकतालाई थप मजबुत बनाउने एक नम्बर बजारका समाजसेवी निरज भट्टले बताए । खजुरामा पहिलेदेखि नै वारि र पारिको विवाद आउने गरेको छ ।

खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर बुढाथोकीले खजुरा एक नम्बरको कार्यक्रमसँग आफूहरूको प्रतिस्पर्धा नै नभएको बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोलेका थिए । सञ्जालले सुरुमा सामूहिक नृत्य प्रतियोगिताका प्रथम हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार दिने भनेर प्रचारप्रसार गरेको थियो ।

त्यसको केही दिनपछि क्षेत्र संरक्षण समितिले सामूहिक प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार रुपैयाँ तोक्यो । संरक्षण समितिले सञ्जालको भन्दा ५ हजार बढी तोकेपछि सञ्जालले प्रथम पुरस्कार ५० हजार बनायो । दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ र सान्त्वना हुनेलाई १० हजार पुरस्कार तोकेपछि खजुरा थप तीजको रन्कोले तातेको छ ।

क्षेत्र संरक्षण समितिले पुरस्कार राशि बढाउने कि के गर्ने भन्ने बारेमा थप निर्णय गरेको छैन । सञ्जालका सचिव सुवास निरौला भन्छन्, ‘हामीले कुनै प्रतिस्पर्धाको भावना लिएका छैनौं । हामी सबैलाई मिलाएर लैजानुपर्छ भन्ने पक्षमा सुरुदेखि नै थियौं र अहिले पनि छौं ।’

सचिव निरौलाले क्षेत्र संरक्षण समितिलाई मिलेर कार्यक्रम गर्न आग्रह गरेको तर समितिका अध्यक्षज्यूले उक्त कुरा मान्य नहुने प्रतिक्रिया दिएपछि आफूहरूले पनि तीजमा महोत्सव लगाउन तयारी गरेको बताए ।

दुवैतिर तीजका महोत्सव आयोजना हुने भएपछि स्थानीय कलाकारहरूले आफ्नो प्रतिभा देखाउन पाउने भएका छन् । ‘यो नवप्रतिभाको उजागर गर्ने एक अवसर पनि हो,’ खजुराका कलाकार दिपेन्द्र केसीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २४ गते आइतबार