नेपालगन्ज ।
महत्वकांक्षी योजनाका रूपमा अघि बढाइएको नेपालगन्जको वाटरपार्कमा बोटिङ र माछापालनका लागि टेन्डर आह्वान गरिएको छ । यसअघि पनि ठेक्का प्रक्रियाबाट यी काम सुरु गरिएको थियो । तर अपेक्षाकृत सञ्चालन भने हुन सकेको थिएन ।
पुरानोले हात झिकेपछि उपमहानगरपालिकाले भदौ १७ गते टेन्डर आह्वान गरेको हो । न्यूनतम वार्षिक १९ लाख ५१ हजार भाडा र धरौटी रकम ५० हजार कायम गरिएको छ । लकडाउनमा पनि उपमहानगरपालिकाले यहाँ काम रोकेको थिएन । यतिबेला वाटरपार्क क्षेत्रको सौन्दर्यीकरणको काम भइरहेको छ ।
नगर विकास समितिबाट हस्तान्तरण भएको उक्त प्रोजेक्ट करिब १३ वर्ष पुरानो भए पनि निर्माणमा ढिलाइ हुँदै आएको थियो । अहिले पार्क क्षेत्रमा सडक कालोपत्रको काम पनि भइरहेको छ ।
उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार यो योजनामा ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा वाटरपार्क रहने र बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने डिजाइनमा छ ।
उक्त क्षेत्रमा करिब एक हजार घरधुरी बसाउने योजना अघि सारिएको छ । नेपालगन्ज–१ धम्बोझीको उत्तरपश्चिममा पर्ने वाटरपार्कको १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नै वाटरपार्कको नाम दिइएको हो ।
तलाउलाई नौका बिहार र पौडी पोखरीका रूपमा विस्तार गरिएको छ । पार्कमा आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्