बाँके ।
सरकार गठनको चार महिना बितिसक्दा पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले १५ गते मुख्यमन्त्रीको सपथ लिएका थिए । ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका चौधरी चार महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन असफल भएका छन् ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच पावर सेयरिङमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकस भएको छ । अब पूर्व सहमतिअनुसार नेपाली कांग्रेसले २ र माओवादीले २ मन्त्रालय पाउनेछन् । तर पनि चौधरीले मुख्यमन्त्री बनेको चार महिना पुग्दासमेत नेपाली कांग्रेस र माओवादीबाट मन्त्री थप्न सकेका छैनन् ।
चार मन्त्रालय चाहिने भए पनि अहिले लुम्बिनी सरकारका तीनवटा मन्त्रालयमात्र खाली छन् । मुख्यमन्त्री चौधरीले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हालिरहेका छन् । मुख्यमन्त्री चौधरी मन्त्रालय फुटाएर भए पनि माओवादीसँगको विवाद सुल्झाउने प्रयासमा रहेका छन् ।
असार तेस्रो साता दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा बजेटपछि सरकार विस्तार गरेर सरकारलाई पूर्णता दिने भनिएको थियो । तर हालसम्म पनि सरकारले पूर्णता नपाउँदा पछिल्ला दिनहरूमा कांग्रेस र माओवादीभित्रै निराशा छाउन थालेको सांसदहरूले गुनासो गर्न थालेका छन् ।
सहमतिअनुसार साना दलहरू सरकारमा गए पनि कांग्रेस र माओवादीबाट बन्ने मन्त्रीहरूको शक्ति बाँडफाँटमा कुरा नमिल्दा ढिलाइ भएको नेपाली कांग्रेसका एक प्रदेश सांसदले बताए ।
‘खाली मन्त्रालय तीनवटा मात्रै छन् । पूरानो सहमतिअनुसार कांग्रेसलाई कम्तीमा दुई र माओवादीलाई दुई मन्त्रालय चाहिन्छ,’ ती सांसदले मिसन टुडेसँग भने, ‘मुख्यमन्त्रीज्यू दुईवटा मन्त्रालयलाई टुक्र्याएर भए पनि थप दुई मन्त्रालय बढाएर छिट्टै सरकारलाई पूर्णता दिनुहुन्छ ।’
नेपाली कांग्रेसभित्र मन्त्री बन्नका लागि धेरै आकांक्षी भएपछि निर्णय गर्न समस्या भएको छ ।
नेपाली कांग्रेसका सांसद प्रचण्ड विक्रम न्यौपाने आन्तरिक कारणले रोकिए पनि अब छिट्टै विस्तार गर्ने पक्षमा मुख्यमन्त्री रहेको बताए । उनले भने, ‘हाम्रो पार्टीमा धेरै आकांक्षी हुनु स्वाभाविक भए पनि पार्टीले जसलाई सिफारिस गर्छ, त्यसलाई मान्ने हुनाले छिटो विस्तार गर्नुपर्ने मान्यतामा छौँ ।’
माओवादी लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजित थारू मुख्यमन्त्रीले विभिन्न बहाना बनाउँदै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको बताउँछन् । ‘पार्टीले तीन जनाको नाम पठाएको मध्ये एक जनामात्रै मन्त्री बनेको अरूलाई मन्त्री बनाउन नसक्दा माओवादी पार्टीको शक्ति कमजोर देखिएको छ,’ उनले भने ।
छिट्टै मन्त्रिपरिषद् विस्तार नगरे ती एक जना मन्त्री पनि पार्टीले फिर्ता बोलाउन बाध्य हुने उनले चेतावनी दिए । उनले आफ्नो पार्टीले अर्थ मन्त्रालयसहित अन्य मन्त्रालयहरू पाउने सहमति भए पनि कांग्रेसभित्रको समस्याका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको बताए । माओवादीले दाङका धनबहादुर मास्की, बाँकेकी कृष्णा केसी (नमुना) र रोल्पाका दीपेन्द्रकुमार पुनलाई मन्त्री सिफारिस गरेको थियो । त्यसमध्ये अहिले मास्की अर्थ मन्त्री बनेका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकार विस्तारको विषयमा व्यापक छलफल भएकाले सायद अब बस्ने संसद् बैठकपछि सरकारले पूर्णता पाउने दाबी गरे । लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय छन् । यसअघि गठबन्धन सरकारका बेला मन्त्रालय फुटाएर १७ सम्म पु¥याइएको थियो ।
पूर्व मुख्यमन्त्री लीला गिरीले मन्त्रालयको संख्या घटाएर १० वटामा झारेका थिए । मन्त्रालय थपेर सरकार विस्तार गर्ने तयारी गरे पनि आन्तरिक कारणले रोकिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेयले बताए । उनले अबको केही दिनमै सरकार विस्तार गर्ने योजना रहेको दाबी गरे ।
हाल कायम रहेका भौतिक पूर्वाधार विकास मन्त्रालय, ग्रामीण तथा सहरी विकास मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमध्ये दुई मन्त्रालय फुटाएर नयाँ दुई मन्त्रालय थप्ने तयारी भएको पाण्डेले बताए । ‘दुई मन्त्रालय टुक्र्याउने अन्तिम तयारी भएको छ,’ सरकारका प्रवक्ता पाण्डेले भने, ‘भदौ २५ गतेभित्र सरकारले पूर्णता पाउने सम्भावना छ ।’









प्रतिक्रिया दिनुहोस्