बाँके ।
आज भाद्र कृष्णअष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै यो पर्व मनाउँछन् । पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णुको आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई दिएको गीताज्ञान प्रख्यात छ ।
कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतनालगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणहरूमा उल्लेख छ । मानिसले गरेको कर्मअनुसार नै उसलाई फल प्राप्त हुन्छ । गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने भगवान् कृष्णले दिएको गीताको सन्देश छ ।
आजका दिन कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने र उत्सव मनाउने परम्परा छ । नेपाल र भारतमा रहेका श्रीकृष्ण मन्दिरमा आजका दिन घुइँचो लाग्ने गर्छ । नेपालमा पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।
कृष्ण जन्माष्टमीको महत्व कृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाहीँ साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान् श्रीकृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक
मनाउँछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको हिन्दु धर्मावलम्बीहरू विश्वास गर्छन् ।
प्रतिक्रिया दिनुहोस्