काँग्रेस केन्द्रमुखी भयोः नेता कोइराला



बाँके ।

नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले कांग्रेसलाई विकेन्द्रिकरण गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले शनिबार पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान महामन्त्री समेत रहेका कोइरालाले पार्टी केन्द्रमुखी र केन्द्रिकृत भइरहेको बताउँदै राज्य संरचना विकेन्द्रित भएजस्तै कांग्रेसमा पनि विकेन्द्रिकरण जरूरी रहेको उल्लेख गरे ।

जिल्लाका विवाद र समस्याहरु केन्द्रमा जाँदा केन्द्र नै ध्रुविकृत हुने अवस्था बनेको भन्दै उनले जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्योजनमा जोड दिए ।

गुट अधिवेशनको समयमा हुनु स्वभाविक भएको बताउँदै केन्द्रिय सदस्य कोइरालाले अधिवेशन पश्चात गुटहरु स्वतः निस्क्रिय भएर जाने जिकिर गरे । कांग्रेस आफैंले खुट्टा कमाएका कारण अन्य दलहरुसँग गठबन्धन गर्नुपरिरहेको औल्याउँदै उनले कांग्रेस सक्षम भए कसैसँग पनि गठबन्धन गर्नु नपर्ने बताए ।

‘कांग्रेस आफ्नो खुट्टामा आफैं उभियो भने कसैले पनि हल्लाउन सक्दैन, कोइरालाले भने– ‘हामी एक भयौं भने कसैले पनि कांग्रेसलाई हराउन सक्दैन ।’ उनले आफ्नो मन्त्री वा प्रधानमन्त्री बन्ने कुरामा कुनै आशक्ति नरहेको भन्दै आफू केही परिवर्तन गर्न राजनीतिमा लागेको उल्लेख गरे । कोइरालाले पार्टीका कार्यक्रमहरुमा युवा र महिलाको उल्लेखनीय उपस्थिति हुनुपर्नेमा समेत जोड दिए ।

केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले संविधान र पार्टीको विधानका बारेमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको बताए । मिश्रित निर्वाचन प्रणालीले मुलुकलाई अस्थिर र असफल बनाउने दिशातर्फ डो¥याइरहेको भन्दै उनले निर्वाचन प्रणालीका बारेमा समेत सोच्नुपर्ने अवस्था आइसकेको जिकिर गरे ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलेको सभापतित्वमा भएको कार्यक्रमलाई केन्द्रिय सदस्यहरु सञ्जयकुमार गौतम र उर्मिला थपलियाले समेत सम्बोधन गरेका थिए ।

सभापति गौडेलले केन्द्रमा पार्टीले माओवादीसँग मिलेर सरकार बनाउने तर जिल्ला तहमा माओवादीले एमालेसँग मिलेर कांग्रेससँग दुरी बढाउने नीतिले पार्टीको भलो नहुने भन्दै नेताहरुको ध्यानाकर्षण समेत गराए । पार्टीका नेता कार्यकर्ता स्वयम् परिचालन हुनुपर्नेमा जोड दिँदै उनले निम्तो खोजेर बसे पार्टी नबन्ने चेतावनी समेत दिए ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ १० गते आइतबार