बेरुजु फछ्र्यौटमा कडाई गर्दै कोहलपुर: कतिले गरे बेरुजु फछ्र्यौट ?



असुल गर्नुपर्ने बेरुजु फछ्र्यौटका लागि पदाधिकारी, निर्माण व्यवसायी, विद्यालय, गैरसरकारी संस्थाहरु र शाखा–उपशाखा तथा कर्मचारीको नाममा रहेको असुलउपर हुनुपर्ने एक करोड ४३ लाख ७८ हजार ७ सय ४४ रूपैयाँ असुल उपरका लागि ३ सय १४ जना व्यक्ति तथा संस्थालाई तत्काल बेरुजु फछ्र्यौट गर्न पत्र काटिएको छ ।

बाँके ।

कोहलपुर नगरपालिकाले बेरुजु रकम असुली अभियान सुरु गरेपछि बेरुजु फिर्ता गर्न सम्बन्धित व्यक्तिहरु आइरहेका छन् । नगर्नेलाई कारबाहीको सिफारिस गर्ने नगरपालिकाले तयारी गरिरहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार, हालसम्म ५० जनाको हाराहारीमा बेरुजुसँग सम्बन्धित व्यक्ति नगरपालिकाको सम्पर्कमा आएका छन् । ‘दैनिक बेरुजुसँग सम्बन्धित व्यक्तिहरु आइरहनुभएको छ । अझै समय भएकाले थप व्यक्तिहरु आउनुहुन्छ ।’ प्रमुख प्रशासकीय अधिकृत ढकालले मिसन टुडेसँग भने ।

कार्यपालिका बैठकबाट निर्णय नै गरेर कोहलपुर नगरपालिकामा देखिएको ४३ करोड बढी बेरुजु रकम असुली गर्न लागिएको हो । कोहलपुर नगरपालिका स्थापना भएको २०७३ देखि गत आर्थिक वर्षसम्म महालेखा परीक्षकको कार्यालयले ४३ करोड ६६ लाख बेरुजु औंल्याएको छ ।
बेरुजु कम गरी सुशासनको प्रत्याभुती नगरबासीलाई गराउने उद्देश्यले गत आर्थिक वर्षको अन्त्यदेखि बेरुजु फछ्र्यौट गर्ने कार्यमा लागिपरेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

नगरप्रमुख आचार्यले सूचना प्रकाशित गरी कोहलपुर नगरपालिकाको नियमित गर्नुपर्ने बेरुजु ३६ करोड ४२ लाख १० हजार ७ सय ३७ रुपियाँ, असुलउपर गर्नुपर्ने बेरुजु १ करोड ४३ लाख ७८ हजार ७ सय ४४ रूपैयाँ र म्याद नाघेको पेश्की बेरुजु ५ करोड ८० लाख ४३ हजार ३ सय ५ रूपैयाँ रहेको जनाएका छन् ।

नगरपालिकाले बेरुजु फछ्र्यौट गर्न ३ सय १४ जनालाई पत्र काटिसकेको छ । नगरपालिका स्थापनादेखि गत आर्थिक वर्षसम्म असुलउपर गर्नुपर्ने बेरुजु फछ्र्यौटका लागि पदाधिकारी, निर्माण व्यवसायी, व्यापारी, विद्यालय, गैरसरकारी संस्थाहरु र शाखा–उपशाखा तथा कर्मचारीको नाममा रहेको असुलउपर हुनुपर्ने एक करोड ४३ लाख ७८ हजार ७ सय ४४ रूपैयाँ असुल उपरका लागि ३ सय १४ जना व्यक्ति तथा संस्थालाई तत्काल बेरुजु फछ्र्यौट गर्न पत्र काटिएको उनले बताए ।

नगरप्रमुख आचार्यले उक्त बेरुजु फछ्र्यौटको लागि कर्मचारीहरुलाई सक्रियतापूर्वक लाग्न कडा निर्देशन दिएका छन् । ‘यस आवको अन्त्यसम्म गत आर्थिक वर्षसम्मको ७५ प्रतिशत बेरुजु फछ्र्यौट हुने कुरामा हामी विश्वस्त छौं । सुशासन र जवाफदेहीता हाम्रो प्रमुख संकल्प हो’ उनले मिसन टुडेसँग भने ।

बेरुजुका विषयमा कुनै चासो नराख्ने व्यक्ति तथा संस्थामाथी कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । बेरुजु असुलका लागि कार्यपालिकाले एउटा समिति समेत बनाएको थियो ।

सोही समितिले दिएको प्रतिवेदन नगर सभाबाट छलफल गरी पारित समेत भएको थियो । नगर सभाबाटै प्रतिवेदनको आधारमा हालसम्मको बेरुजु असुल उपर गर्नको लागि कडाईका साथ प्रस्तुत हुने निर्णय भएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार