नेपालगन्ज (बाँके) ।
डिजेलको मूल्य वृद्धिसँगै अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर बढेको छ । डिजेलको मूल्य प्रतिलिटर २१ रूपैयाँले बढेपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रुवाहक सवारीसाधनको भाडा चार दशमलव ७० प्रतिशतले बढाएको हो ।
नयाँ भाडादर बुधबारदेखि नै लागु गर्ने भनिए पनि बाँके भने आजदेखि लागु हुने भएको छ । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य पाँच प्रतिशतले थपघट भएमा सवारी भाडादर पनि समायोजन हुने गरेको छ । विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण गर्दै आएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारीका साधनको भाडादर चार दशमलव ७०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६ दशमलव १५ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६ दशमलव ८३ प्रतिशतले वृद्धि गरिएको छ ।
डिजेलको बजार मूल्य एक सय ४४ रुपैयाँ रहेकोमा हाल बढेर एक सय ६५ रुपैयाँ पुगेको छ । डिजेलको मूल्य वृद्धि हुँदा भाडादर बढ्ने र डिजेलको मूल्य घट्दा भाडादर नघट्ने हुँदा यात्रुहरु भने मारमा परेका छन् । यसभन्दा अघि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउँदा यातायात व्यवसायीले भाडादर घटाएका थिएनन् । जसबाट यात्रुहरु महँगो भाडामै यात्रा गर्न बाध्य भएका थिए ।
नयाँ भाडादरअनुसार नेपालगन्ज–काठमाडौं एक हजार चार सय ४२ रुपैयाँबाट वृद्धि भएर एक हजार पाँच सय १० रुपैयाँ नयाँ भाडादर कायम भएको छ । नेपालगन्ज–जलेश्वर एक हजार ६ सय ८३ बाट बढेर एक हजार सात सय ६२ रुपैयाँसम्म पुगेको छ ।
नेपालगन्ज–धनगढी पाँच सय ५७ बाट बढेर पाँच सय ८३ रुपैयाँ पुगेको छ । तीन सय ७४ रुपैयाँबाट नेपालगन्ज–टीकापुर हुँदै राजापुरसम्मको भाडा बढेर तीन सय ९२ रुपैयाँ पुगेको छ ।
नेपालगन्ज–रुकुम खलंगा एक हजार दुई १५ बाट एक हजार दुई सय ७२, नेपालगन्ज–कचनापुर एक सय ४८ बाट एक सय ५५ रुपैयाँ, नेपालगन्ज–काकडभिट्टा दुई हजार दुई सय ५६ बाट बढेर दुई हजार तीन सय ६२ पुगेको छ । त्यस्तै नेपालगन्ज–गौर एक हजार चार सय ६४ भाडाबाट अहिले एक हजार पाँच सय ३३ रुपैयाँमा भाडादर समायोजन भएको छ ।
नेपालगन्ज–जनकपुर एक हजार सात सय १६, नेपालगन्ज–देवस्थल–सल्लीबजार चार सय ५१, नेपालगन्ज–धरान दुई हजार एक सय ६०, नेपालगन्ज–नारायणगढ–मुगलिङ हुँदै पोखरा एक हजार चार सय ५७, नेपालगन्ज–पोखरा एक हजार तीन सय २२, नेपालगन्ज–विराटनगर दुई हजार एक सय ७१, नेपालगन्ज–वीरगन्ज एक हजार चार सय, नेपालगन्ज–मलगंवा एक हजार चार सय ७९, नेपालगन्ज–राजविराज एक हजार नौ सय ६ र नेपालगन्ज–शिलगढी एक हजार एक सय ७२ रुपैयाँ नयाँ भाडा कायम गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्