आँखा पाक्ने रोगको प्रकोपः नेपालगन्ज र खजुराका विद्यालय बन्द



बाँके ।

आँखा पाक्ने रोगको प्रकोप बढ्दै जान थालेपछि नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका विद्यालहरू बन्द गरिएका छन् । दुवै पालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै जान थालेपछि शुक्रबारसम्मका लागि विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।

आँखा पाक्ने रोगको प्रकोप बढेपछि नेपालगन्जका निजी तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय भएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । उनले प्याब्सन, एनप्याब्सनलगायतसँग छलफल गरेर नगरका सम्पूर्ण विद्यालय बुधबारदेखि बन्द गर्ने निर्णय भएको बताए ।

‘एउटै विद्यालयमा सय/दुई सय विद्यार्थीको आँखा पाक्ने समस्या देखिएको छ,’ उनले भने, ‘प्रकोप देखिएका र नदेखिएका विद्यालयलाई बन्द गर्न भनेका छौँ ।’ नगरका सबै विद्यालयहरू आगामी आइतबारदेखि मात्र सञ्चालनमा आउँनेछन् । खजुरामा समेत शिक्षा समितिको मंगलबार बसेको बैठकले शुक्रबारसम्म पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आँ

खा पाक्ने चिलाउने र सुनिने महामारीको रूपमा फैलिरहेको हुँदा उच्च जोखिम भएको विश्लेषण गरी स्वास्थ्य शाखाले गरेको सिफारिसका आधारमा विद्यालय बिदा दिने निर्णय भएको थियो ।

खजुरा गाउँपालिकाका विद्यार्थीमा पनि आँखा पाक्ने रोगको प्रकोप देखिएको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए ।
विद्यार्थीमा आँखा पाक्ने रोग फैलिएको खबर पाएपछि मंगलबार अनुगमन गरेर विद्यालय बन्द गर्ने निर्णय गर्ने गरिएको उनले बताए ।

‘सोमबार विद्यालयको अनुगमन गर्ने र अवस्था हेरेर विद्यालय बन्द गर्ने योजना थियो । वर्षातका कारण अनुगमन हुन सकेन,’ उनले भने, ‘मंगलबार अनुगमन गरेर शुक्रबारसम्म सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेका छौं । आइतबारबाट नियमित रूपमा पठनपाठन हुनेछ ।’

  • No tags available
प्रकाशित मिति : २०८० साउन २४ गते बुधबार