बर्दिया कारागारमा ११ जना भारतीय र पाकिस्तानी



बाँके ।

जिल्ला कारागार बर्दियामा एक पाकिस्तानी र १० भारतीय गरेर ११ विदेशी नागरिकले सजाय भोगिरहेका छन् । लागुऔषध, जबर्जस्ती करणी, डाँका चोरी तथा हातहतियार खरखजानाका मुद्दामा पाकिस्तानी भारतीय नागरिकले सजाय भोगिरहेका हुन् ।

उनीहरूबाहेक ६ जना भारतीय नागरिक थुनुवा रहेको कारागार प्रमुख सन्तोष विकले जानकारी दिए । पाकिस्तानी नागरिक नासिर अली लागूऔषध कोकिनसहित काठमाडौंमा ०६५ साल पुस ९ गते पक्राउ परेका थिए । ०६७ साल असार २७ गतेको अदालतको फैसलाले उनलाई १५ वर्षको जेल सजाय र ५ लाख जरिवाना तोकेको थियो ।

उनी मुलुकका करिब एक दर्जन कारागारबाट सरुवा हुँदै बर्दिया आएका थिए । ‘२०८० साल पुस २८ गते जेल सजाय पूरा भई उनी कारागारमुक्त हुनेछन्,’ कारागार प्रमुख विकले भने, ‘अली पाकिस्तानस्थित एडजन थाना सेखपुर जिल्लाका बासिन्दा हुन ।’

यसैगरी भारत उत्तरप्रदेश राज्यको अजमगढ जिल्लाको अम्बेदगरनगर थाना टाण्डाका बहादुर लाल यादवले जबर्जस्ती करणीको अभियोगमा ११ वर्ष जेल सजाय भोगिरहेका छन् । ०७४ साल फागुन २४ गतेको फैसलाले उनले ११ वर्षको कैद सजाय भोग्दै आएका हुन् । यस्तै उत्तरप्रदेश राज्यको बहराईच जिल्ला मिहीपुरुवाका विमलेस कुमार हरिजन लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए । उनलाई ०७६ साल मंसिर ९ गतेको अदालतको फैसलाले १० वर्ष कैद र ७५ हजार जरिवाना तोकेको थियो ।

उत्तर प्रदेश राज्य लखिमपुर खिरी ईन्द्रनगरका हरिजित सिंह पनि लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए । उनलाई ०७८ असार ४ गते अदालतको फैसलाले ५ वर्ष कैद र १ लाख जरिवाना गरेको छ ।

उत्तर प्रदेश राज्यका नरपत नगरका इरसात अहम्मदलाई पनि ०७९ साल असार २४ गते अदालतको फैसलाले ५ वर्षको कैद र ७ हजार जरिवाना गरेको थियो । अन्य ६ जनामध्ये तीनजना लागूऔषध ब्राउन सुगर र तीनजना डाँका, चोरी, हातहतियार खरखजना लगायत सांगठित अपराधका मुद्दा खेपिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन २२ गते सोमबार