11 September 2024  |   बुधबार, भदौ २६, २०८१

घरैमा साङ्लोमा बाँधिएका युवकको उद्दार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन २२, २०८०  

बाँके ।

लामो समयदेखि घरमै फलामको सिक्रीमा बाँधिएका युवकको उद्दार गरिएको छ । दुई वर्षदेखि फलामको सिक्रीमा बाँधिएका बर्दिया बाँसगढी न.पा. ९ खरैनीका २२ वर्षीय सुरेश थापाको उद्दार गरिएको हो । मानसिक समस्याबाट पीडित थापाले अस्वभाविक व्यवहार गर्दै समस्या सृजना गर्न थालेपछी परिवारले फलामको सिक्रीले बाँधेर राख्ने गरेका थिए ।

परिवारका सदस्यका अनुसार दुई वर्षअघि अध्ययन गर्दागर्दै सुरेशमा मानसिक समस्या देखिएको थियो । वडाध्यक्ष चन्द्र बहादुर शाहीको अनुरोधमा निलसागर सेवा आश्रम नेपालगन्जले शुक्रबार अबेर राती सुरेशको उद्दार गरेको छ ।

‘उद्दार गरि निलसागर सेवा आश्रममा ल्याएर उहाँलाई राखेका छौं’ आश्रमकी अध्यक्ष सरिता खनालले भनिन्, ‘स्वास्थ्य अवस्थामा सुधार ल्याएर पारिवारिक पुनर्मिलन गराउने राम्रो लक्ष्य छ ।’ अध्यक्ष खनालले दिएको जानकारी अनुसार सुरेशको उपचार समेत सुरू भइसकेको छ । उनीलाई मनोविमर्श सेवा समेत दिइने आश्रमले जनाएको छ ।

मानसिक समस्या देखिएपछि सुरेशमा घरमा नबस्ने, डुलिरहने, दौडिने, बस, ट्रक रोक्ने, झै–झगडा गरिरहने लगायतका समस्या देखिएको थियो । त्यसैले उनीलाई परिवारका सदस्यले नियन्त्रणमा लिन घरमा फलामको जन्जिरले बाँधेका थिए ।

सुरेशले मानसिक रोगको उपचार गराई औषधी सेवन गरेपनि स्वास्थ्यमा कुनै सुधार भएको थिएन । कमजोर आर्थिक अवस्था भएको परिवारलाई सुरेशको थप उपचारका साथै घरमै पनी हेरचाह गर्न समस्या भइरहेको थियो ।

प्रकाशित मितिः सोमवार, साउन २२, २०८०     5:04:24 PM  |