8 September 2024  |   आइतवार, भदौ २३, २०८१

राप्ती नदीमा पानीको बहब बढ्दो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ११, २०८०  

ईश्वरी पौडेल । नेपालगन्ज (बाँके)
पश्चिम राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा भारी वर्षा हुँदा राप्ती नदीमा पानीको बहाबले सतर्कता तह पार गरेको छ । मंगलबार सतर्कता तह ६ मिटर पार गर्दै चेतावनी तहसम्म पुगेको हो । मंगलबार साँझ ५ः०० बजेसम्म पानीको बहाब ६.२४ मिटर पुगेको थियो । ७.५ मिटर पानीको सहत पार गरेपछि खतराको संकेत मानिन्छ । राप्ती नदीमा पानीको बहाब निरन्तर बढ्दो छ ।

मंगलबार दिउसो १२ः०० बजे ५.५७ मिटर कायम गरिएको जल मापन केन्द्र कुसुमले जनाएको छ । जल मापन केन्द्रका अनुसार १२ः०६ मा ५.७३, १२ः१० मा ५.७७, ४ः१० मा ६.१७, ४ः४० मा ६.१९, ५ः२० मा ६.२३ मिटर पानीको सतह कायम गरिएको थियो । त्यस्तै ६ः१० मा ६.२३, ६ः२० मा ६.२५ पुगेर ६ः४० बाट पानीको सहत घटेर ६.२२ मिटर पुगेको थियो । ७ः०० बजेतिर पानीको बहाब घटेर ६.२ मिटर पुगेको बताइएको छ ।

दाङ, रोल्पा र प्युठानमा भारी वर्षा हुँदा पश्चिम राप्तीमा पानीको सहत बढ्छ । राप्तीसोनारी–४, लालपुर घाटस्थित गौसालामा गाई रेखदेख गर्न गएका पाँचजना पानीको बहाब धेरै हुँदा नदीमै थुनिएका थिए । उनीहरुको दिउसो २ बजे सकुसल उद्दार गरिएको छ । राप्तीसोनारी –४ पसरामपुरका ५३ वर्षीय मायाराम थारु, ५१ वर्षीया बतासी थारु, ५५ वर्षीय चुकीराम थारु, ५० वर्षीय लोकबहादुर थारु र सूर्यलालपुरका ३२ वर्षीय आशाराम थारु नदीको टापुमा थुनिएका थिए । लालपुरको उत्तरतर्फ राप्ती नदीको भंगालो र राप्ती नदीको बीच टापुमा रहेको नर्सरीमा गौशाला छ ।

त्यस्तै लगातार भइरहेको वर्षातका कारण तालतलैया र नदीको बहाब बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले सचेत रहन सर्वसाधारणमा अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागको सूचनाअनुसार पश्चिम राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा पछिल्लो १२ घण्टामा भारी वर्षा भएको साथै राप्ती नदीको बहाब एक्कासी बढेर बिहान ११ः४० बजे ५.४५ मिटर पार गरेको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए ।

नदी आसपासका बासिन्दाले सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, नदीमा ओहोरदोहोर गर्ने जस्ता कार्य नगर्न नगराउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष पश्चिम राप्तीको कुसुमस्थित जलमापन केन्द्रको थ्रेस होल्ड परिवर्तन गरी सतर्कतातह ६ मिटर र खतरा तह ७.८ मिटर कायम गरेको पनि सबैलाई जानकारीको लागि अनुरोध गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, साउन ११, २०८०     12:51:45 PM  |