11 September 2024  |   बुधबार, भदौ २६, २०८१

खलंगा–बालुवासंग्रही सडकः साता नबित्दै उक्कियो कालोपत्रे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ८, २०८०  

सल्यान ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने सल्यानको खलंगा–बालुवासंग्रही सडक खण्डअन्तर्गत बनगाड कुपिण्डे नगरपालिका ९ ज्यमिरेदेखि बाविया चौरसम्मको कालोपत्रे एक साता नबित्दै उक्किएको छ । वर्षातको समयमा निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गर्नुका साथै काममा लापर्बाही गर्दा कालोपत्रे एक साता नबित्दै उक्किएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् ।

सडक डिभिजन कार्यालय दाङले डेढ किलोमिटर कालोपत्रे गर्न २०७७ मा एक करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सडक ६ महिनामा सम्पन्न गर्ने भन्दै कालोपत्रे गर्ने जिम्मेवारी प्राकृतिक निसान जेभीले पाएको थियो । २०७७ असार ७ गते डिभिजन कार्यालयसँग निर्माण कम्पनीले सम्झौता गरेको थियो ।

झन्डै दुई वर्षजति अलपत्र परेको उक्त सडक ठेकेदार कम्पनीले २०८० असार अन्तिममा मात्रै कालोपत्रे गरेको थियो । पानीले भिजेको सडक राम्रोसँग नसम्याई हतारहतार काम गरेको र गुणस्तरहीन सामग्री प्रयोग गरेकै कारण उक्किएको स्थानीय बादी बुढाथोकीले बताए । ठेकेदारले अलकत्र पनि आवस्यकता अनुसार प्रयोग नगरेको र रोलर पनि धेरै नलगाएकाले हातले तान्दा र खुट्टाले घोट्दा पिच सबै उक्किने गरेको उनी बताउँछन् ।

‘यसमा ठेकेदार कम्पनीसँगै सम्बन्धित कार्यालयको पनि लापर्बाही छ । एक पटक प्राविधिक आएको देखिएन,’ उनले भने ‘मापदण्डविपरीत गुणस्तरहीन काम गर्नेलाई कार्बाहीको दायरामा ल्याउनु पर्छ ।’ असारको अन्तिममा काम गरे जस्तो देखाएर भुक्तानी लिने उद्देश्यले ठेकेदार कम्पनीले जमिनको माटो सुक्न नदिएर हतारहतार काम सक्नो खोज्दा सडक चिसै भएर पिच उक्किएको बावियाचौरका स्थानीय बाशुदेव आचार्यले गुनासो गरे । ठूलो वर्षा भएमा कालोपत्रे सबै बगाउने भन्दै उनले चिन्ता गरे ।

‘वर्षातले गर्दा सडक भिजेको र पानी जमेको समयमा कालोपत्रे धेरै टिक्दैन अहिले काम नगर्नुभन्दा ठेकेदारले काम सिध्याउन जबर्जस्ती गरे । मापदण्डअनुसारका सामग्री नभएकै कारण पिच छोटो समयमै उक्किएको देखिन्छ,’ बनगाड कुपिण्डे नगरपालिका ८ का वडाध्यक्ष कुलबहादुर पुरीले बताए । एक हजार पाँच सय मिटर कालापत्रे गर्नुपर्नेमा एक हजार तीन सय ५० मिटर कालोपत्रे गरेकोमा अहिले सिधा सडकमा मात्र कालोपत्रे टिकेको र ठाडो तथा घुम्तीमा सबै उक्किएको उनले बताए ।

‘म वडा अध्यक्ष भएको नाताले बारम्बार ताकेता गरेको थिएँ । तर ठेकेदारले मन्त्रीले उद्घाटन गर्ने भनेका छन् भनी हतारहतार सडक चिसो हुँदैमा धुलो नहटाई काम गरे । त्यसैको परिणाम हो यो,’ उनले भने ‘एकातिर नाला पनि नभएको र अर्कोतिर ठूलो वर्षात भएमा पानी सडकबाटै बग्ने भएकाले कालापत्रे कत्ति रहनेछैन ।’

कालापत्रे गरेको केही दिनमै उक्किएपछि सम्बन्धित निकायमा जानकारी गराएको तर ‘मन्त्रीको पावर’ देखाएपछि कारबाहीका लागि कतै उजुरी नदिएको उनको भनाइ छ । ढिलै भए पनि कालोपत्रे हुन थालेपछि खुसी भएका स्थानीय मित्रलाल बुढा ठेकेदारले देखावटी काम गरेर जनता र सम्बन्धित निकायको आँखामा छारो हाल्ने काम मात्र गरेको र आर्थिक वर्षको अन्तिममा आएर रकम फर्स्योट रोक्न मात्र काम गरेको बताए ।

‘सडकको बीचको भागमा हातले कालापत्रे कोटयाउँदा समेत प्वाक प्वाक उक्किन्छ भने छेउछाउमा कस्तो काम गरे होलान्,’ उनले भने । सडक डिभिजन कार्यालय दाङका इन्जिनीयर रिकेश महर्जनले कालोपत्रे उक्किएको बारेमा आफूलाई खासै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । साथै निर्माणपछि निर्माणस्थलमा पुगेर आफूले अवलोकन नगरेको उनको भनाइ छ ।

प्राकृतिक निसान जेभीका ठेकेदार डिल्ली केसीले भने केही स्थानमा पानी जम्ने भएकाले चिसोका कारण कालापत्रे उक्किएको बताए । उक्किएको स्थानमा भने पुनः काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘मैले पहिलेदेखि नै पिचको तयारीको काम गरिरहेको थिएँ । सडक डिभिजन कार्यालय दाङले ठेक्का रद्ध गरेको मैले थाहा पाइनँ । गरिरहेको कामलाई बीचैमा छाड्न नमिल्ने भएकाले कालापत्रे गरेको हुँ,’ उनले भने ।

प्रकाशित मितिः सोमवार, साउन ८, २०८०     9:09:42 AM  |