8 September 2024  |   आइतवार, भदौ २३, २०८१

कोहलपुर खानेपानी संस्थामा चुनावः ११ पदमा ३२ जनाको उम्मेदवारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ६, २०८०  

बाँके ।

आसन्न साउन १२ गते हुन गइरहेको कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचनका लागि विभिन्न पदमा ३२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार विभिन्न पदहरूमा ३२ जनाले उम्मेदवारी दर्ता गराएका
हुन् ।

एक अध्यक्षका लागि तीनजना, एक उपाध्यक्षका लागि चारजना, एक सचिवका लागि तीनजना, एक कोषाध्यक्षका लागि तीनजना, एक सहसचिवका लागि दुईजना र एक सहकोषाध्यक्षका लागि तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी तीन खुला सदस्यका लागि नौजना र दुई महिला सदस्यका लागि पाँचजनाले उम्मेदवारी दिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा नेपाली कांग्रेस निकट प्यानलबाट टेकनारायण भुषाल, नेकपा एमाले, माओवादी, एकीकृत समाजवादी र राप्रपाको संयुक्त प्यानलबाट रूद्रप्रसाद खनाल र स्वतन्त्र प्यानलबाट विष्णुप्रसाद तिवारीले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्षमा वीरबहादुर बिष्ट, यमबहादुर रावत क्षेत्री, कुन्तिदेवी शर्मा र मोहनप्रसाद शर्माको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत टिकाराम ढकालका अनुसार सचिवमा गोविन्द वाग्ले, रामकृष्ण पाण्डे, सञ्जय मण्डलले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा ध्रुव आचार्य, नारायणी ओली र शिवराज पोखरेल तथा सहसचिवमा बालकुमारी सापकोटा र यशोदा थापाको उम्मेदवारी परेको छ । सहकोषाध्यक्षमा ईश्वरप्रसाद शर्मा, रेशमलाल सापकोटा र अमृतबहादुर श्रेष्ठले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खुला सदस्यका लागि झग्गुप्रसाद ओली, चक्रदीप शाह, आशा घर्ती मगर, केशवराज पोखरेल, दुर्गाप्रसाद काफ्ले, चन्द्रबहादुर घर्ती, काशीराम घिमिरे, जीतबहादुर चौधरी र कमलप्रसाद खनालले उम्मेदवारी दिएको निर्वाचन अधिकृत ढकालले जानकारी दिए । संस्थाको महिला सदस्यका लागि दीपाकुमारी बस्नेत, टीकादेवी सुनार, अञ्जना सुनार, मेनका न्यौपाने आचार्य र खिमसरा बिरकट्टाले उम्मेदवारी दिएका छन् । भुषाल र खनालको प्यानलले सबै पदहरू तथा तिवारीको प्यानलले सहसचिवबाहेक अन्य सबै पदहरूमा उम्मेदवारी दिएको छ ।

लोकतान्त्रिक प्यानलको प्रतिबद्धता सार्वजनिक

कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा होमिएको लोकतान्त्रिक प्यानलले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसले समर्थन गरेको लोकतान्त्रिक प्यानलले प्रतिबद्धतापत्र सार्वजनिक गरेको थियो ।

प्यालनबाट अध्यक्ष पदका उम्मेदवार टेकनारायण भुषालले कोहलपुरवासीलाई स्वच्छ, सफा र प्रशोधित पिउने पानी उपलब्ध गराउने अभिप्रायका साथ ‘शुद्ध, सफा र प्रशोधित पानी, युवा नेतृत्व र कोहलपुरमा सहज खानेपानी’ भन्ने मुल लक्ष्य रहेको बताए । उनले संस्थाबाट प्राप्त हुने सेवा सुविधाको उपभोग नगर्नेसमेत बताएका छन् ।

प्रतिबद्धतापत्रमा खानेपानीको धारा जडान गरेका तर पिउनेपानी प्राप्त गर्न नसकेका उपभोक्ताका घरहरूमा अविलम्ब पानी पु¥याउने, थप १५ वटा डिप बोरिङ र पाँचवटा ओभर हेट पानी ट्यांकी निर्माणका लागि पहल गर्ने, गरिबीको रेखामुनि रहेका परिवार, मुक्त कमैयालाई सम्बन्धित निकायको सिफारिसमा औचित्यको आधारमा निःशुल्क धारा जडान गरिने उल्लेख गरिएको छ ।

विगतमा भएको आर्थिक अनियमियतालाई छानबिन गरी प्रतिवेदनमा दोषी ठहरिएकालाई कारबाही गर्नेे, धारा जडान भएका तर पानीको उपभोग नगरेर पनि बिल उठेका उपभोक्ताको लागि स्थलगत अनुगमन गरी बिल मिनाहा गर्नेे, बाटोको दुवैतर्फ पाइप लाइन विस्तार गरिनुका साथै प्रत्येक तीन/तीन सय मिटरमा कन्ट्रोलप्लेस राखिने तथा कुनै कारणबस पानीको आपूर्ति अबरुद्ध हुने भएमा उपभोक्तालाई विद्युतीय माध्यमबाट अग्रिम जानकारी गराउने प्रणालीको विकास गरिने बताइएको छ ।

कोहलपुरको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्नका लागि भेरी बबई डाइभर्सन र राप्ती नदीको पानी कोहलपुरमा ल्याउन सम्बन्धित गौरवको आयोजना, खानेपानी मन्त्रालय र कोहलपुर नगरपालिकासँग आवश्यक समन्वय गरी कोहलपुरका सबै नागरिकको घरघरमा हुने पिउने पानीको अभावलाई अन्त्य गर्ने लक्ष्यका साथ कार्ययोजना निर्माण गरिने अध्यक्ष पदका उम्मेदवार भुषालले प्रतिबद्धता
जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले कोहलपुरका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउनका लागि भुषाल नेतृत्वको टिमले काम गर्ने बताए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसीले पानी मानवीय जीवनको आधारभूत पक्ष भएकाले जनतालाई सहजरुपमा पानी उपलब्ध गराउन सक्ने क्षमता भएको नेतृत्व आजको आवश्यक रहेको दाबी
गरे ।

प्रकाशित मितिः शनिबार, साउन ६, २०८०     9:48:12 AM  |