21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

नेपालगन्जमा निःशुल्क एम्बुलेन्स सेवा सुरू

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन २, २०८०  

नेपालगन्ज ।

बाँकेमा पहिलोपटक स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । सोमबारबाट उक्त सेवा सञ्चालन गरिएको हो । गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपांगता भएका, ज्येष्ठ नागरिक र आकस्मिक बिरामीलाई लक्षित गरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले बताए ।

‘यो सेवाबाट लक्षित वर्गलाई घरदेखि अस्पतालसम्म निःशुल्क अस्पताल लैजान सहज हुने छ,’ प्रमुख बिष्टले भने । उनले बिरामीहरुको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताए ।

बिष्टले अस्पतालसम्म पुग्न बिरामीले कुनै कठिनाइ भोग्न नपरोस् भनेर सुरु गरिएको सेवा निरन्तर चल्ने बताए । उनले भने, ‘२४सैँ घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स स्ट्याण्डबाई रहन्छन् । हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि बिरामीलाई समयमै अस्पताल पु¥याउने व्यवस्था गरेका छौँ ।’

उपप्रमुख कमरुद्दीन राईले आकस्मिक बिरामीहरुको सहजताका लागि एम्बुलेन्स सेवा प्रभावकारी हुने बताए । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले निःशुल्क एम्बुलेन्स सेवाले नगरवासी लाभान्वित हुने बताए । उक्त सेवाका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयभित्र तीनवटा एम्बुलेन्स स्ट्याण्डबाई रहने छन् ।

नेपालगन्जमा २० वटा एम्बुलेन्स सञ्चालनमा छन् । निःशुल्क एम्बुलेन्स सेवाका लागि मोबाइल नम्बर ९८०८८६४८८९, ९८०८८६५०९९ मा सम्पर्क गरेर सेवा लिन सकिने उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन २, २०८०     1:01:08 PM  |