10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

गुर्भाकोटमा ईलाका प्रशासन कार्यालय उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १, २०८०  

नेपालगन्ज ।

पूर्वी सुर्खेतको गुर्भाकोटमा ईलाका प्रशासन कार्यालयको उद्घाटन गरिएइको छ । गुर्भाकोट नगरपालिका–७ मेहेलकुनामा शनिबार उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका हुन् । ईलाका प्रशासन कार्यालय सञ्चालनसँगै सिम्ता, गुर्भाकोट, लेकवेसी, भेरीगंगाका सेवाग्राहीलाई वीरेन्द्रनगर धाउनुपर्ने बाध्यता हटेको छ ।

यहाँका सर्वसाधारणले वर्षौंदेखि ईलाका प्रशासनको माग गर्दै आएका थिए । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री खड्काले प्रशासनिक सेवा प्रारम्भ गर्ने मतदातालाई दिएको प्रतिबद्धता पूरा गरिएको जनाए । निर्वाचनका बेलामा हुने राजनैतिक प्रतिस्पर्धा एक किसिमको भए पनि जनतालाई सेवा दिने र विकास गर्ने कुरामा सबै दलहरु एकताबद्ध भएर जानु पर्ने उनले बताए ।

सेवा प्रारम्भको दिन दुईवटा नागरिकतासमेत वितरण गरिएको छ । स्थानीय रोशनी शर्मा र प्रेरणा शर्माले नागरिकता प्राप्त गरे । कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले स्रोतको सीमितता कारण चाहे जस्तो बजेट विनियोजन गर्न नसकिएको बताए । उनले आवश्यकतानुसार आमनागरिकलाई समेट्ने किसिमका योजना समावेश गरिने घोषणा गरे ।

आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जिसीले सरकारप्रति नागरिकको अपेक्षा ठूलो हुनु स्वाभाविक भएको बताउँदै आवश्यकतानुसार सेवा पहुँच प्राप्त होस् भनि ईलाका प्रशासन कार्यालयको सुरुवात भएको बताए ।

यस्तै, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले सबै तहका सरकारको समन्वय र सहकार्यबाट जनताका आवश्यकता परिपूर्ति गर्ने बताए । उनले समय अनुकूल विकास निर्माणका चरण अघि बढ्ने जनाए ।

प्रकाशित मितिः सोमवार, साउन १, २०८०     9:36:24 AM  |