8 September 2024  |   आइतवार, भदौ २३, २०८१

भोलिदेखि हवाई टिकट ६ प्रतिशतले महँगिने, कुन गन्तव्यको भाडा कति बढ्ला?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ३१, २०८०  

काठमाडौं ।

साउन १ गतेदेखि हवाई टिकटमा भ्याट लाग्ने भएको छ। सरकारले आर्थिक ऐनमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेको थियो। हवाई टिकटमा भ्याट लागु भएसँगै अहिलेको टिकटमा हवाई भाडा सरदरमा ६ प्रतिशतसम्म बढ्ने वायु सेवा सञ्चालक संघले जनाएको छ।

अहिले आन्तरिक हवाई टिकटमा ३ वटा शीर्षकमा मूल्य तय भएको हुन्छ। जसमा यात्रु सेवा शुल्क, इन्धन चार्ज र हवाई फेयर रहेको छ। इन्धन चार्ज र यात्रु सेवा शुल्कमा पहिले नै भ्याट रहेको हुँदा दोहोरो भ्याट लाग्दैन।

यसैगरी हवाई फेयर रकममा पनि पहिले नै भ्याट लागु हुने सरदरमा ६ प्रतिशतसम्म थप रकम लाग्ने छ।

उदाहरणका लागि हवाई फेयर रकमभित्र ल्याण्डिङ, पार्किङ, सञ्चार उपकरण लागत शुल्कमा प्राधिकरणले पहिले नै भ्याट लिने गरेको हुँदा उक्त शीर्षकमा समेत भ्याट लाग्दैन।

भ्याट लागेपछि गन्तव्यअनुसार भाडा वृद्धि हुने भएको छ। एकमुष्ट भाडामा भ्याट नलाग्ने भएका कारणले गर्दा यस्तो हुने भएको हो। कुनै गन्तव्यमा दुई प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ भने कुनैमा ६ प्रतिशत छ। भाडामा समावेश भएका विभिन्न शीर्षक र करयोग्य मूल्यका आधारमा फरक पर्ने भएको छ।

कसरी कुन रकममा भ्याट लाग्छ ?

उदाहरणका लागि काठमाडौं-सिमराकोभाडा ३१ सय ८६ रूपैयाँ (आधारदर ७ सय, इन्धन शुल्क २२६० र विभिन्न निकायको शुल्क तथा कर/२२६ रूपैयाँ) रहेछ। सो रकममध्ये आधार दरमा भएको रकममध्ये १ सय रूपैयाँमा भ्याटसमेत ११३ रूपैयाँ र मुनाफासहितको थप रकम ५८७ रहेछ भने इन्धन भ्याट २६० समेत गरी जम्मा २ हजार २६० रूपैयाँ र विभिन्न निकायको शुल्क/कर २ सय र भ्याट २६ रूपैयाँ गरी २२६ रूपैयाँ गरी काठमाडौंदेखि सिमरासम्मको हवाई भाडा कुल ३१८६ रूपैयाँ रहेको छ।

अब हवाई यातायात सेवामा भ्याट लाग्ने अवस्थामा कर लाग्ने मूल्य २८८७ (६८७, २ हजार र २ सय रूपैयाँ) हुन्छ भने सो मूल्यमा १३ प्रतिशत दरले हुन कर ३७५ कायम हुन आउने अध्ययन रिपोर्टमा उल्लेख छ।

सोही हिसाबमा अहिले पोखरा काठमाडौंको भाडा ६३५० रूपैयाँ (आधार दर ३४७०, इन्धन शुल्क २३८० र यात्रु सेवा शुल्क ५०० रूपैयाँ) हुन्छ।

सो रकममध्ये आधार दरमा भएको रकममध्ये ५ सयमा मूल्य अभिवृद्धि कर सहित ५६५ र मुनाफा सहितको अन्य रकम २९०५ रूपैयाँ रहेछ भने इन्धन शुल्कमा भ्याट २७४ रूपैयाँ र २१०८ रपैयाँ समेत गरी जम्मा २३८० रूपैयाँ इन्धन शुल्क र यात्रु सेवा शुल्क ४४२ र भ्याट ५८ रूपैयाँ गरी जम्मा ५ सय रूपैयाँ गरी काठमाडौं पोखराको भाडा ६३५० रूपैयाँ हुन्छ।

अब हवाई यातायात सेवामा भ्याट लाग्ने अवस्थामा कर लाग्ने मूल्य ३४०५ प्लस २१०८ प्लस ४४२लाई जोडेर आउने ५९५५ मा तेह्र प्रतिशत भ्याटको दरले ७७४ रूपैयाँ समेत गरी काठमाडौं-पोखराको भ्याट सहितको भाडा ६७२९ रूपैयाँ मात्रै हुन्छ। यसको हिसाबले पोखराको भाडा अहिलेको तुलनामा ६ प्रतिशतको हाराहारीमा मात्रै बढ्छ।

अन्तर्राष्ट्रिय टिकटको हकमा

यसैगरी अध्ययन दलले अन्तर्राष्ट्रिय हवाई टिक‍टको हकमा भने प्रस्थान विन्दुमा हुने यात्रुहरूको हकमा कर लाग्ने मूल्यमा बील जारी गर्नु पर्ने सुझाव दिएको थियो। सोही अनुसार भ्याट लाग्ने भएको छ।

कार्यदलले काठमाडौं- दिल्ली उडानको हवाई यातायात भाडा १३ हजार २ सय (आधार दर ६ हजार, इन्धन शुल्क ५ हजार र विभिन्न निकायको शुल्क/कर २२६० रूपैयाँ) रहेको हकमा हिसाब निकालेको छ।

सो रकम मध्ये आधार दरमा भएको रकम मध्ये १ हजार रूपैयाँमा भ्याट समेत गरी ११३० रूपैयाँ र मुनाफासहितको अन्य रकम ४८७० रहेछ, इन्धन शुल्क ५ हजार र विभिन्न निकायको शुल्क/कर २ हजारमा २६० रूपैयाँ समेत गरी २२६० रूपैयाँ गरी काठमाडौंदेखि नयाँ दिल्लीसम्मको हवाई भाडा कुल १३ हजार २ सय ६० रूपैयाँ हुन्छ।

यस अवस्थामा हवाई यातायात सेवामा भ्याट लाग्ने हुँदा कर लाग्ने रकम १२ हजार ८ सय ७० (५८७० प्लस ५००० प्लस २०००) रूपैयाँ हुन्छ। सो मूल्यमा १३ प्रतिशत भ्याट १६७३ रूपैयाँ समेत गरी काठमाडौंदेखि नयाँ दिल्लीको हवाई भाडा १४५४३ रूपैयाँ हुने आउने कार्यदलको निष्कर्ष थियो।

प्रकाशित मितिः आइतवार, असार ३१, २०८०     2:42:02 PM  |