गणेश विशु । नेपालगन्ज (बाँके) ।
सामान्य वर्षासँगै लुम्बिनीमा सर्पदंशको बिगबिगी बढ्न थालेको छ । यस आर्थिक वर्षमा मात्रै सर्पको टोकाइबाट लुम्बिनीमा १८ जनाको मृत्यु भएको छ । यो संख्या गत वर्षको भन्दा धेरै हो । गत वर्ष सर्पको टोकाइबाट १८ जनाको मृत्यु भएको थियो ।
सर्पको टोकाइबाट १२ जना महिला र चारजना बालकसहित ६ जना पुरुषको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगरले जनाए ।
लुम्बिनीमा सबैभन्दा बढी दाङमा सर्पदंशको बिगबिगी देखिएको छ । यस आर्थिक वर्षमा सर्पको टोकाइबाट दाङमा मात्र सातजनाको मृत्यु भएको छ । त्यस्तै नवलपरासीमा एक, बाँकेमा एक, बर्दियामा एक, प्युठानमा दुई र कपिलवस्तुमा ६ जनाको सर्पको टोकाइबाट मृत्यु भएको उनले जनाए ।
यसको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको उनको भनाइ छ । मुख्यतया खाली खुट्टा नहिँड्ने, जुत्ता लगाएर हिँड्न उनले सुझाव दिए । ‘सकेसम्म रातिमा हिँड्डुल गर्नु हुँदैन । हिँड्नै परे उज्यालो बालेर हिँड्ने,’ उनी भन्छन्, ‘घरलाई सुरक्षित राख्नु पर्छ । सर्पहरु घरभित्र छिर्न सक्ने प्वाँलहरु टालटुल पार्नुपर्छ । घर वरिपरि सरसफाइ गर्नुपर्छ । जसबाट पनि सर्पको टोकाइबाट बच्न सकिन्छ ।’
भेरी अस्पताल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट डा. कृष्णप्रसाद आचार्यले अत्यधिक गर्मीका कारण सर्पदंशका बिरामी बढ्न थालेको बताए । उनका अनुसार भेरी अस्पतालमा दैनिक १० देखि २० जना बिरामी भर्ना हुन्छन् । पछिल्लो हप्ता यसको संख्या झन बढेको छ । अहिलेसम्म दुई/तीनजना गम्भीर प्रकृतिका बिरामीलाई लामो समयसम्म उपचार गरिएको छ ।
बाँकेमा भेरी अस्पताल, राँझामा सर्पदंश उपचार केन्द्र र शमशेरगन्जमा सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेका बिरामीको उपचार हुने उनको भनाइ छ । होसियारी अपनाउने र समयमै अस्पतालमा पु¥याउने हो भने सर्पदंशले टोकेका बिरामीको ज्यान बचाउन सकिने चिकित्सक बताउँछन् । विगतको भन्दा अहिले उपचारको सुविधा बढ्दै गएको छ ।
डा. आचार्यका अनुसार विषरहीत सर्पले टोकेमा १० देखि १२ घन्टासम्म बिरामीलाई निगरानीमा राखिन्छ । ‘विष लाग्छ कि लाग्दैन भनेर त्यस्ता बिरामीलाई निगरानीमा राख्छौं,’ उनले भने, ‘निगरानीका क्रममा कुनै प्रकारको लक्षण नभेटिएको अवस्थामा घर पठाइदिन्छौं,’ डा. आचार्यले भने । उनका अनुसार बिरामीको जटिलता हेरेर दुई हप्तासम्म आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिन्छ । सर्पदंशबाट बच्नका लागि राति सुत्नुभन्दा पहिले ओछ्यान राम्ररी सफा गरेर, झुल टाँगेर मात्र सुत्नुपर्ने चिकित्कहरुले सुझाव दिएका छन् ।
डा. आचार्य भन्छन्, ‘घरवरपर सरसफाइ राख्नुपर्छ । झाँडीहरु राख्नु हुँदैन । पूर्वसतर्कता अपनाउने र सर्पले टोकेमा तत्काल अस्पताल ल्याउने हो भने बिरामीको ज्यान बचाउने अवस्था रहन्छ ।’ मनसुन सक्रिय हुँदै जाँदा सर्पदंशका बिरामीको संख्या अझ बढ्न सक्ने बताइएको छ । तराईका जिल्लामा सर्पदंशको टोकाइबाट मृत्यु हुनेको संख्या कुनै महामारी जत्तिकै हुने गरेको छ ।
यससम्बन्धी स्थानीय र प्रदेश सरकारले विशेष प्याकेज ल्याउनु पर्ने सर्वसाधारणहरुको भनाइ छ । यससम्बन्धी जनचेतना मात्र फैलाउन सक्ने हो भने केही हदसम्म सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या हटाउन सकिने बर्दियास्थित बाँसगढीका बालाराम अधिकारीले बताए ।









प्रतिक्रिया दिनुहोस्