कोहलपुरले माग्यो शैक्षिक संस्थाको चलअचल सम्पत्ति विवरण



कोहलपुर ।

कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित विद्यालयहरुको सम्पत्ति विवरण माग गरेको छ । नगरलाई शैक्षिक हब बनाउन खोजेको कोहलपुरले कार्यालय परियोजनका लागि भन्दै सबै विद्यालयहरुको चलअचल सम्पत्ति विवरण माग गरेको हो । साउन १५ गतेभित्र उक्त सम्पति विवरण अनिवार्यरुपमा बुझाउने समय सीमा तोकिएको शाखा प्रमुख रामबहादुर हमालले जनाए ।

‘सामुदायिक विद्यालयको नाममा कायम रहेको, भोगाधिकार रहेको, लिजमा लिइएको वा दिइएको जग्गासम्बन्धी वितरण पेस गर्नुपर्ने छ,’ उनले भने, ‘संस्थागत विद्यालयको नाममा कायम भएको/रहेको, भाडामा लिइएको (सम्झौता पत्र), जग्गाको विवरण तथा सो सम्बन्धमा भएका कागजातका प्रतिलिपि मागे गरेका छौं ।’

यतिमात्रै होइन, यहाँ सबै विद्यालयले विद्यालयको भवन संख्या, फर्र्निचर, कक्षा कोठाको संख्याको विवरणसमेत समावेश गर्न भनिएको छ । विद्यालयको उक्त विवरणअनुसारको जग्गा प्रयोगमा रहेनरहेको व्यवहोरा उल्लेख गर्नुपर्नेछ । शाखाको वार्षिक बुलेटिन शैक्षिक झलक २०७८ का अनुसार कोहलपुर नगरपालिका क्षेत्रमा ३० वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

कक्षा १ देखि १२ सम्म पठनपाठन हुने विद्यालयको संख्या पाँचवटा छ । कोहलपुरमा कक्षा १ देखि १० सम्म पढाइ हुने विद्यालयको संख्या ६ वटा छन् । यस्तै कक्षा १ देखि ८ सम्म पढाइ हुने विद्यालयको संख्या सात वटा, कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालय १२ वटा छन् ।

ती विद्यालयमा बालविकास तहदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या १५ हजार नौ सय ७६ जना छ । संस्थागततर्फ भने प्ले ग्रुप तथा मन्टेश्वरी विधिका पूर्व प्राथमिक तहका नौ, कक्षा १–८ वटा र १–१० सम्म गरी ५५ वटा विद्यालय सञ्चालनमा छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार