13 June 2024  |   शुक्रबार, असार १, २०८१

जमुनाह नाकाबाट स्रोत नखुलेको २० लाख नेपाली रूपैयाँसहित एक भरिया पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०  

बाँके ।

नेपाल भारत सीमावर्ती नाका जमुनाहबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २० लाख नेपाली रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहमा रहेको शर्मा गल्लीबाट बिहीबार सशस्त्र प्रहरीले स्रोत नखुलेको २० लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जमुनाह नजिकैको जयसपुरका २० वर्षीय सोहेल कुरेशी रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ ।
पक्राउ परेका कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक भने मोटरसाइकलसहित भारततर्फ नै भागेको सशस्त्र प्रहरी जमुनाहले जनाएको छ ।

‘विशेष सूचनाको आधारमा मोटरसाइकल रोकेर चेकजाँच गर्दै थियौं । सोही क्रममा चालक भने मोटरसाइकलसहित भारततर्फ नै भागे’ प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहका एक अधिकारीले भने, ‘पछाडी बसेका कुरेशीको साथबाट भने २० लाख नेपाली रकम बरामद भयो ।’
सशस्त्र प्रहरीले २० लाख नेपाली रूपैयाँको स्रोत खुलाउनको लागि भनेपनि कुरेशीले रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ ।

केही दिन अघिमात्र जमुनाहमै चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका एक जनालाई स्रोत नखुलेको चार लाख बीस हजार नेपाली रूपैयाँसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । सोबेला स्रोत नखुलेको चार लाख बीस हजार नेपाली रूपैयाँसहित २५ वर्षीय एक भारतीय नागरिक पक्राउ परेका थिए ।

नियन्त्रणमा लिइएका कुरेशीलाई बरामद रूपैयाँसहित आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालयको जिम्मा लगाइएको प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०     8:39:20 AM  |