20 June 2024  |   बिहिबार, असार ७, २०८१

हजुरबाले कुटे नाति– १ जनाको मृत्यु, अर्काको अवस्था चिन्ताजनक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०  

बैतडी ।

हजुरबाको कुटपिटबाट बैतडीमा १ जना बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार बैतडीको पर्चौडी नगरपालिका–६ मडेलीधारका ५० वर्षीय गणेश साउँदले आफ्ना नाति ८ वर्षीय रिजन र २ वर्षीय रोसनलाई कुटपिट गरेका थिए।

हजुरबाको कुटाइबाट गम्भीर घाइते भएका २ वर्षीय रोसनको उपचारको क्रममा मृत्यु भएको हो। उनको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले बताए।

घरका अरु सदस्य काममा जानुपर्ने भएपछि २ नातिको हेरचाह गर्ने जिम्मा गणेशले लिएका थिए। तर हेरचाह गर्नुको सट्टा उनले कुटपिट गरेपछि २ बालक गम्भीर घाइते भएका हुन्।

गम्भीर घाइते दुवै बालकलाई उपचारका लागि अस्पताल लगिएकोमा २ वर्षीय रोसनको मृत्यु भएको हो। अर्का बालक ८ वर्षीय रिजनको अवस्था पनि चिन्ताजनक रहेको जनाइएको छ।

रोसन र रिजनका बुबा दिपक साउद भने धनगढीमा रहेका बुझिएको छ। नातिलाई कुटपीट गर्ने हजुरबा गणेश साउदलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०     8:31:44 AM  |