सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आउँदै



नेपालगन्ज ।

निजी क्लिनिकभन्दा अति कम शुल्कमा प्रयोगशालाको सेवा दिने गरी नेपालगन्ज उपमहानगरपालिका–४ मा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र साउनदेखि सञ्चालनमा आउने भएको छ । यहाँका जनताको स्वास्थ्य सेवामा सहज र शुलभ ढंगले पहुँच पु¥याउन उक्त केन्द्र सञ्चालन गर्न थालिएको हो ।

यसको पूर्वाधार तयार भएको बताउँदै वडा अध्यक्ष गोपाल पुनले भने, ‘निजी पोलिक्लिनिकभन्दा करिब ४० प्रतिशत सस्तो भेरी अस्पतालमा छ र भेरीभन्दा पनि २० प्रतिशत सस्तोमा हुने गरी हामीले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा प्रयोगशाला सञ्चालन गर्दैछौं ।’

उनका अनुसार सुगर प्रेसरलगायत विभिन्न प्रकारका रगत, पिसाब चेकजाँच कार्य हुने छ । ‘यसबाट स्वास्थ्य क्षेत्रमा हाम्रो वडा नमुना बन्नेछ भन्ने विश्वास छ,’ उनले भने ।

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउन पहल थालिएदेखि नै नगरवासीको आकर्षण बढेको पुनले बताए । सेवाग्राहीको संख्या मात्रै होइन उनीहरूमा सन्तुष्टि पनि बढाउने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन लागिएको उनको भनाइ छ ।

मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने कोसिस गरिएको उनले बताए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा सञ्चालित सहरी स्वास्थ्य केन्द्रमा सेवा लिनेको संख्या भने उल्लेख्य वृद्धि भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २७ गते बुधबार