20 June 2024  |   बिहिबार, असार ७, २०८१

‘रियल’ आमा र ‘रिल’की आमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २७, २०८०  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

‘तैले यत्रो गाउँभरि भाउजुलाई समाउनै पर्ने तलाई नकचरो’ चलचित्र सिल्ली फोमा अनिता विश्वकर्मा लामिछानेले बोलेको सम्बाद हो यो । उक्त सम्बादमा उनका छोरा ‐रवीन्द्र झा) भन्छन्, ‘चुप लाग बुढी माउ, जहिले राममाया जस्तै बुहारी चाहियो भन्थ्यौँ त ? अब तिम्रो खुसीको लागि राममाया नै उठाएर ल्याइदिएँ ।’

बाँकेको खजुरा–३ की अनिता उक्त चलचित्रमा रवीन्द्र झाको आमाको भूमिकामा छिन् । चलचित्रमा रवीन्द्रको नाम सिल्ली राम छ । प्रस्तुत सम्बादमा, छोराले राम्रो केटी विवाह गरोस् भन्ने आमाको चाहना रहेको स्पष्ट हुन्छ । तर, छोराले गाउँकै भाउजु नाता पर्ने राममायालाई भगाउँछन् । गाउँ पञ्चायतले कालो मोसो लगाइदिन्छ । राजबहादुर सानेको लेखन र निर्देशनमा भनेको चलचिलको कथा पूर्ण कमेडी छ । सिल्ली फो अनिताको पछिल्लोपटक रिलिज भएको चलचित्र हो ।

उनले हालसम्म एक दर्जन बढी हास्य श्रृंंखला र चलचित्रमा अभिनय गरिसकेकी छन् । विक्रम सम्वत् २०६७ सालमा बल्ल खाइस हास्य श्रृंखलाबाट उनले अभिनय यात्रा सुरु गरेकी हुन् । पाठशालामार्फत उनले छोटो समयमै ठूलो पर्दा अभिनय गर्ने अवसर प्राप्त गरिन् । उनले अभिनय गरेको पहिलो चलचित्र पनि पाठशाला नै हो । गुड फ्रेन्स, बाँधिएको सांलोलगायतका चलचित्रमा पनि उनले अभिनय गरेकी छन् । उनले अहिलेसम्म अभिनय गरेका सबै चलचित्र र हास्य श्रृंखलामा आमाको भूमिका नै निर्वाह गरेकी छन् ।

आफूलाई चलचित्रमा प्रायः आमाकै भूमिकामा बढी अफर आउने गरेको बताउँछिन् । उनका अनुसार तृप्ति खड्का भन्ने धर्म बहिनीको माध्यमबाट उनी फिल्म क्षेत्रमा जोडिएकी हुन् । उनी भन्छिन्, ‘म काम खोज्दै काठमाडौं पुगेको थिएँ । एउटा पत्रिकामा सिरियल÷फिल्मको लागि आमाको रोलमा अभिनय कलाकार मागेका रहेछ । नम्बरमा फोन गरँे । अडिसन पास भएर अभिनय गर्ने मौका मिल्यो ।’ उनका केही चलचित्र रिलिज हुनै बाँकी छन् । नेपाली चलचित्र क्षेत्रमा नाम चलेका कलाकारसँग उनले अभिनय गरेकी छन् ।

चलचित्रमा अभिनय गर्नु रहर मात्रै भएको उनी बताउँछिन् । ‘कमाउनका लागि म चलचित्रमा लागेको होइनँ । आफ्नो क्षमता प्रदर्शन गर्न पनि यस क्षेत्रमा लागेकी हुँ । काम पनि राम्रो छ । कमाइ पनि ठीकै हुन्छ,’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भनिन् । कथावस्तुअनुसार आफूले चलचित्रमा आमाको भूमिका निभाउने गरेको उनले बताइन् । आमाको भूमिकालाई उनी सकभर न्याय गर्ने कोसिस गर्छिन् ।

आफ्नो पात्रलाई जीवन्त बनाउने प्रमुख जिम्मेवारी भनेको स्वयम् व्यक्ति मै निहित हुन्छ । आमा पात्रमार्फत समाजका धेरै आमाको प्रतिनिधित्व गर्न पाउँदा उनी खुसी छिन् । भन्छिन्, ‘म रिलमा आमा भनेर अभिनय गर्छुँ । रियलमा छोरी, बुहारी, आमा र सासु सबै हुँ ।’ चलचित्र ‐रिल) मा मनोरञ्जन, सामाजिक विषयवस्तुमा सन्देश प्रवाह गर्न भूमिका निभाउने उनको रियलमा आमा बनेर निभाएको भूमिका भने निकै कारुणिक छ । जीवनको उताराद्र्धसम्म आइपुग्दा उनले निकै संघर्षमय समय बिताएकी छन् ।

चितवन जन्मथलो, बाँके कर्मथलो

अनिता चितवनमा जन्मिइन् । बालापन त्यतै बिताइन् । ५६ वर्षीय अनिताको परिवार उनी ९ वर्षको हुँदा बाढीले विस्थापित भएर तराई झरेको थियो । चितवनको अमेलिया उनी जन्मेको ठाउँ हो । बुबा पूर्णबहादुर विक र आमा गंगादेवी विकको कोखबाट उनको जन्म भएको थियो । बुबा भारतीय सेनाका जागिरे थिए । प्राथमिक तहसम्मको शिक्षा उनले उतै हासिल गरिन् ।

उनी ९ वर्षको थिइन्, गाउँमा बाढी आयो । जग्गा जमिन, घर, सम्पत्ति सबै बगायो । कतिले बाढीले ज्यान नै गुमाए । उनका बुबा पूर्णबहादुर सपरिवार बाँकेको मनकामनामा बसाइँ सरे । अहिलेको खजुरा–३ मा बसोबास गर्दै आएका छन्, उनीहरु । औपचारिक कक्षा आठसम्म मात्रै हासिल गरेकी छन् । उनको १३ वर्षको कलिलो उमेरमा विवाह भयो । त्यतिबेला आफ्नो मागी विवाह भएको उनी बताउँछिन् । विवाहपछि उनले पढ्न पाइनन् । ‘उमेर सानै छ । विवाह गर्दिन भनेको थिएँ । परिवारले मानेनन् । पढ्दापढ्दै बुहारी भएँ,’ अनिता सुनाउँछि, ‘ससुराले बुहारी मान्दैनौं । छोरीको रुपमा राख्छौं । पढाउँछौ भनेका थिए । विवाहपछि कहाँ पढ्न पाउनु ।’

यसरी सानै उमेरमा विवाह भएपछि उनको पढाइमा सधैका लागि बे्रक लाग्यो । त्यतिबेला राति ३ बजे उठ्नुपर्ने, घरायसी कामकाज, जंगलमा गएर घाँस दाउरा गर्नुपर्ने अवस्था उनले सम्झिइन् । सानै उमेरमा विवाह हुँदा निकै दुःख व्यहोर्नु परेको उनको भनाइ छ । १५ वर्षको कलिलो उमेरमा उनमा आमाको जिम्मेवारी थपियो । पहिलो सन्तानको रुपमा छोरालाई जन्माइन् ।

घरको आर्थिक अवस्था मजबुत नभएकोले धेरै सास्ती व्यहोर्नु परेको उनी बताउँछिन् । तीन छोरा र एक छोरीकी आमा हुन्, अनिता । श्रीमान् गाउँमा पसल सञ्चालन गर्छन् । एउटा छोरा नेपाल प्रहरीमा जागिरे छन् । अर्को छोरा नेपाल टेलिकममा काम गर्छन् । छोरी मानसिक अपांग छिन् । अर्को छोरा घाइते जीवन बिताइरहेका छन् । ‘जिन्दगी फिल्ममा अभिनय गरेको जस्तो छैन । रिल र रियल जिन्दगी निकै फरक छ । यी सबै कुराको भुक्तभोगी हुँ म,’ उनी भन्छिन् ।

जीवनका उकाली ओराली, सुख, दुःख भुलाउने माध्यमको रुपमा गीत संगीतलाई लिएकै छिन् उनले । उसोतः सानै उमेरदेखि गीत संगीतमा रुचि राख्थिन् । सानै उमेरमा विवाह हुँदा परिवारको जिम्मेवारी आइलाग्यो । घरको सम्पूर्ण अवस्था धान्नुपर्ने अवस्था, विभिन्न रोग र व्यावधानका कारण उनले गीत गाउने कलाभित्र गुम्साएर राखेकी थिइन् । ५६ वर्षीय अनिता पछिल्लो समय गीत संगीत क्षेत्रमा सक्रिय छिन् । गत वर्षको मंसीरमा उनको स्वरमा ‘मायाको बगैँचा’ सार्वजनिक भयो । पछिल्लो समय दोस्रो गीतको तयारीमा छिन्, उनी ।

बुढेसकालमा संगीतमा धुन खोजिरहेकी उनको संगीतप्रतिको मोह भने रोचक छ । त्यतिबेलाको समयमा कसैको घरमा टिभी थिएन, हुन्थेन । रेडियो पनि अलि आर्थिक अवस्था मजबुत भएकाहरुको घरमा मात्रै हुुन्थ्यो । संयोग बुबा भारतीय सेना थिए । उनको घरमा रेडियो थियो । खुबै रेडियो सुन्थिन उनी । विवाह घरमा रेडियो सुन्न नपाउँदा माइती घरमा आएर रेडियो सुन्ने गरेको उनले बताइन् ।

उनी रेडियोको स्रोता मात्रै थिइनन् । रेडियोमा बजेका गीत जस्ताको त्यस्तै गुनगुनाउँछिन् । उनको माइती गाउँमा अरुको घरमा रेडियो थिएन । ‘घर बडार्दा, खाना पकाउँदा दैलो पुछो गर्दा रेडियोमा बच्ने गीतसँगै गुनगुनाउथे । सँगै दुरुन्तै गाउँथे । रेडियोप्रति धेरै लगाब थियो मेरो,’ उनले भनिन् ।

विवाहपछि पनि घाँसदाउरा जाँदा जंगलमा घन्टौँ गीत गाएर बस्थिन् । त्यतिबेला गीत गाउने मान्छेलाई राम्रो मान्दैन थिए । उनी त झन बुहारी । तेरो बुहारी मकै बारीमा जंगलमा गएर गीत गाउँछ, भनेर घरमा कुरा लगाइदिन्थे छिमेकीले । छिमेकीले कुरा काटे पनि धेरैले अनिताको कस्तो राम्रो स्वर भन्थे । हौसला प्रदान गर्थे । उनी अहिले पनि विभिन्न मेलाहरुमा गएर गीत गाउँछिन् । उनी रहर पूरा गर्न गीत गाउँछिन् । फिल्ममा अभिनय गरेर जीविकोपार्जन गरिरहेकी छन् ।

प्रकाशित मितिः बुधबार, असार २७, २०८०     11:51:36 AM  |