नेपालगन्जमा विद्युत् चुहावट गर्नेलाई कारबाहीको चेतावनी



नेपालगन्ज ।

विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने व्यक्ति वा समूहलाई कडा कारबाहीको चेतावनी दिएको छ ।

पछिल्लो समय, नेपालगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न स्थानमा अनाधिकृतरुपमा डारेक्ट हुकिङ गर्ने, सिँचाइ वर्गमा मिटर स्वीकृत गरी अन्य प्रयोजनमा प्रयोग गर्ने गतिविधि बढेपछि यस्तो चेतावनी दिएको वितरण प्रमुख दिवाकर प्याकुरेलले बताए ।

उनका अनुसार अनाधिकृतरुपमा विद्युत् क्षमता घटबढ गर्ने, मिटर रिडिङ गर्न जाँदा अवरोध गर्ने, विद्युत् मिटर व्यवारिसेरुपमा छाड्ने, लामो समयसम्म विद्युत् महसुल भुक्तानी नगर्ने गतिविधि भइरहेको पाइएको छ ।

विद्युत्बाट खटिएका चुहावट नियन्त्रण टोलीमाथि अवरोध तथा हुलहुज्जत गर्ने जस्ता गैरकानुनी कार्य गरी विद्युतीय चोरी तथा दुरुपयोग गर्ने गरेको पाइएको उनको भनाइ छ । त्यस्तो कार्य गरेको पाइएमा विद्युत् चोरी नियन्त्रण नियमावली २०५९ को दफा २१ अनुसार सम्बन्धित क्षेत्रको पूर्ण वा आंशिकरुपमा विद्युत् आपू्र्ति सेवा बन्द गर्न सकिने उनले जनाए ।

प्याकुरेलले सरोकारवालाहरुले त्यस्तो गैरकानुनी र दण्डनीय कार्यलाई निरुत्साहित गर्नुहुन तथा यदी त्यस्तो भएको पाइएमा नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रमा जानकारी गराइ सहयोग गर्न अनुरोध गरिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २७ गते बुधबार