‘मौवाको घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्छु’



नेपालगन्ज ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँके र बर्दियाबाट मौवाको घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्ने बताएका छन् । प्रेस युनियन बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री चौधरीले घरेलु मदिरा खासगरी बाँके र बर्दियाको विशेषता भएकाले यसलाई ब्रान्डिङ गर्न खोजेको बताए ।

यहाँ उत्पादित घरेलु मदिरा ब्रान्डिङ गरेर देश तथा विदेश निर्यात गर्ने उनले बताए । मुख्यमन्त्री चौधरीले आफ्नो योजना कार्यान्वयका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मौवाको घरेलु मदिरा प्रवद्र्धन गर्ने योजना समावेश गरेका छन् ।

त्यसका लागि बाँके र बर्दियामा योजना कार्यान्वय गरिने मुख्यमन्त्री चौधरीले बताए । मुख्यमन्त्री चौधरीले प्रदेशको बजेटमा बाँके र बर्दियालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै थप विकासका लागि आवश्यक कदम चाल्ने जनाए । ‘यी जिल्लालाई मैले अन्याय हुन दिन्नँ । बजेटमा अधिकतम प्राथमिकतामा राखेको छुँ,’ उनले भने ।

खजुरामा प्रस्ताव गरिएको प्रादेशिक विश्वविद्यालयका लागि आवश्यक बजेट व्यवस्था गरिने बताएका मुख्यमन्त्रीले उक्त विश्वविद्यालयले बाँकेको शैक्षिक विकासमा टेवा पु¥याउने दाबी गरे । मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद् ढिलाइको कारण खोतल्दै भने, ‘बजेटसँग जोडिएका गतिविधि सञ्चालन भएको बेला हामी त्यतातर्फ केन्द्रित भएनौँ । तर अब साउनमा टुंगो लाग्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८० असार २५ गते सोमबार