बाँके ।
पश्चिम नेपालकै सुविधा सम्पन्न कोहलपुरमा निर्मित लामो दुरीको बसपार्क उद्घाटन भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार एक कार्यक्रमका बीच उक्त बसपार्क उद्घाटन गरेका हुन् । निर्माण सम्पन्न नहुँदै यसभन्दा अघि पनि उक्त बसपार्क तत्कालीन नगरप्रमुख लुटबहादुर रावतले उद्घाटन गरेका थिए ।
अहिले काम सम्पन्न भएकाले बसपार्क उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ । उक्त बसपार्क साउन पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नगर विकास कोषको ६० प्रतिशत ऋण र कोहलपुर नगरपालिकाको ४० प्रतिशत लगानीमा बनेको बसपार्कको काम गत फागुनमा नै सकिएको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । बसपार्क सञ्चालनको लागि आवश्यक तयारी गर्न केही समय लागेकाले आइतबारमा मात्र उद्घाटन गरिएको उनले बताए ।
कुल ३० करोड ६२ लाख सात हजार सात सय एक रूपैयाँ लागतमा खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले बसपार्क निर्माणको काम गरेको थियो । साउनदेखि सञ्चालनमा आउन लागेको लामो दुरीको बसपार्कलाई पश्चिम नेपालकै सुविधा सम्पन्न मानिएको छ । पाँच बिगा १६ कट्ठा क्षेत्रफलमा बनेको आधुनिक बसपार्कमा लामो दूरीका २० वटा बस, मध्यम दूरीका २२ वटा सवारी साधन र अटोसहित ७९ वटा छोटो दुरीका सवारी साधन अट्ने क्षमता छ ।
बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै संरचना रहेको नगर उपप्रमुख संगीता सुवेदीले जानकारी दिइन् । उनका अनुसार तीन प्लेटफर्म रहेको बसपार्कमा व्यावसायिक सटरसँगै, स्वास्थ्यचौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने प्रबन्धसमेत मिलाइएको छ । बसपार्कभित्रै विद्युत् प्राधिकरणले ठूला बस चार्ज गर्नमिल्ने एक र साना गाडी चार्ज गर्नमिल्ने दुई गरेर तीनवटा चार्जिङ स्टेसन बनाएको छ । तीनवटा ब्लकमा २७ वटा सार्वजनिक शौचालय (तीनवटा अपाङमैत्री) निर्माण गरिएको उपप्रमुख सुवेदीले बताइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार २४ वटा टिकट काउण्टर, स्तनपान कक्ष र धुम्रपान कक्षसमेत बनाइएको बताए । पाँच बिघा १६ कठ्ठा जमिनमा निर्माण भएको बसपार्कभित्र पार्क तथा विश्रामस्थल, नागरिक सहायता कक्षलगायत सूचना प्रविधि सुविधा उपलब्ध हुने उनले जानकारी दिए । पश्चिम नेपालकै सुविधा सम्पन्न मानिएको लामो दुरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात प्रालि कोहलपुरले पाएको छ । सोबापत कोहलपुर नगरपालिकालाई बागेश्वरीले वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ रूपैयाँ तिर्नुपर्नेछ ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चौधरीले तीन प्रदेशको प्रवेशद्वार कोहलपुरमा आधुनिक बसपार्क बन्नु खुसीको कुरा भएको बताए । ‘लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कोहलपुरमा रहेको यो बसपार्क लुम्बिनी प्रदेशकै गहनाको रूपमा रहेको छ,’ उनले भने, ‘समग्र कोहलपुरको विकासका लागि मुख्यमन्त्रीको नाताले मैले कोहलपुरलाई विकसित सहरको रूपमा स्थापित गराउन आफू कही कतै चुक्दिैन ।’
रोजगारी र आत्मनिर्भर प्रदेश सरकारको प्राथमिकता रहेको उनले बताए । रोजगारी र आत्मनिर्भर प्राथमिकतामा रहेको
भन्दै समृद्ध लुम्बिनी प्रदेशको लागि मानिसलाई रोजगारी र आत्मनिर्भर बनाउनुपर्नेमा उनले जोड दिए । सोहीअनुसार नै आगामी आर्थिक वर्षमा रोजगारी सिर्जना र धेरैभन्दा धेरैजनालाई आत्मनिर्भर बनाउनका लागि बजेट ल्याइएको बताए । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत रोजगारी र आत्मनिर्भर गराउने कुरालाई नै समेटेको मुख्यमन्त्री चौधरीले दाबी गरे ।
‘हामीले स्थानीय स्तरमा रहेका उत्पादनलाई ब्राण्डिङ गर्नेगरी बजेट विनियोजन गरेका छौं,’ उनले भने, ‘विभिन्न जातजातिले उत्पादन गर्ने घरेलु मदिरा, उत्पादन वस्तुलगायतलाई ब्राण्डिङ गरेर बजार पठाउने योजना छ । यसका लागि चाहिने ऐन नियमसमेत सरकारले बनाइदिन्छ ।’ यसले स्थानीय स्तरमा रोजगारीको सिर्जनासँगै मानिसलाई आत्मनिर्भरसमेत बनाउने मुख्यमन्त्री चौधरीले बताए । आफ्नो नेतृत्वको सरकारले यसअघिका सरकारले ल्याएको भन्दा फरक नीति तथा कार्यक्रम र बजेट ल्याएको उनले दाबी गरे ।
आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट विकासमा निर्माणमा मात्रै केन्द्रित नरहेर मानिसलाई रोजगारी र आत्मनिर्भर बनाउनेखालको रहेको बताए । ‘विकास निर्माणले मात्र मानिसको आर्थिक समृद्धि हुन सक्दैन ।
त्यसैले रोजगारी दिने र आत्मनिर्भर बनाउनेखालका कार्यक्रमका लागि बजेट ल्याएका छौं,’ मुख्यमन्त्री चौधरीले भने, ‘अब यति सडक पुल बनायौंभन्दा पनि हामीले यो गाउँमा यति जनालाई रोजगारी दियौं र यति जनालाई आत्मनिर्भर बनायौं भन्ने सक्नुपर्छ ।’ रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउनेखालका योजना तथा कार्यक्रमहरू ल्याउन स्थानीय तहलाई उनले आग्रह गरे । ती कार्यक्रमका लागि लुम्बिनी प्रदेश सरकारले बजेटको कमी हुन नदिने मुख्यमन्त्री चौधरीले प्रतिबद्धतासमेत जनाए ।
त्यस्तै लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना), दुर्गाप्रसाद चौधरी, सञ्जुकुमारी चौधरी र वसन्ती अधिकारीले कोहलपुरमा यातायात कार्यालय सञ्चालनका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्