सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने महेश बाँकेमा पक्राउ



बाँके ।

नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा, जिल्ला बैतडी दशरथचन्द नगरपालीका वडा नम्बर ११ बस्ने बर्ष ३५ को महेश राम लावड रहेका छन् ।

उनले आफ्नो नाम दिनेश बिष्ट भन्दै जिल्ला डोटी पुर्बीचौकी गाँउपालिका वडा नं. ७ बस्ने देब बहादुर बि.क. का घर परिवारका समेतलाई नेपाल आर्मीको भान्सेको लागि भर्ना खुलेको छ तपाईको मान्छे छ जागिर लगाई दिन्छु भनी विभिन्न किसिमका प्रलोभन देखाएका थिए ।

उक्त पश्चात् आवस्यक कागजात माग गरी नेपाली सेनाका तेघरी लगायत विभिन्न तालिम केन्द्र रहेका स्थान नजिक बोलाई आवेदन फारम भर्ने देखी विभिन्न चरणका परिक्षाहरुमा पास गराई जागिर लगाई दिन्छु भनी दिनेश बिष्ट भन्ने व्यक्तीले बिभिन्न मितिमा रु.४ लाख २० हजार रकम मागी ठगी गरेका हुन् ।

काठमाण्डौ बोलाए पश्चात सम्पर्क बिहिन भई ठगी गरेको निवेदनको आधारमा निज दिनेश बिष्टको बारेमा अनुसन्धान गर्दा निजको वास्तविक नाम ठेगाना जिल्ला बैतडी दशरथचन्द नगरपालीका वडा नम्बर ११ बस्ने बर्ष ३५ को महेश राम लावड भएको खुल्न आएको र निज नेपाली सेनामा २०६२ देखी २०७३ साल सम्म जागिर गरी सो पश्चात सुर्खेत ब्यारेकबाट भगौडा खाली भएको समेत खुल्न आएको प्रहरीले बताएको छ ।

उनको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले उनलाई असार २३ गते जिल्ला बाँके राप्तीसोनारी गाउपालीका वडा नम्बर ९ शम्सेरगंजमा डेरा गरी लुकिछिपी बसी रहेको अवस्थामा फेलापारी प्रहरीले पक्राऊ गरेको हो।

उनीमाथि ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भई रहेको प्रहरीले जनाएको छ।

साथै निजले सो भन्दा पुर्व समेत बिभिन्न स्थानमा ठेगाना र नाम मनोज रावत,रमेश सिंह बिष्ट,मनोज सिंह बिष्ट, दिनेश बिष्ट भनी फरक फरक बताउने र नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरु संग राम्रो सम्बन्ध छ भनी विभिन्न प्रलोभन देखाई सुर्खेत स्थित नेपाली सेनाको प्राविधिक पदमा भर्ना गरि दिने भनी एक जना महिला र कार्यालय सहयोगीमा भर्ना गरी दिने भनी एक जना पुरुषबाट समेत ३ लाख ठगी गरेको अनुसन्धानमा खुल्न आएको हुदाँ निजले अन्य स्थानहरुमा समेत सोही प्रकृतिबाट ठगी गरेको हुन सक्ने भएकाले निजले कोही कसैलाई ठगी गरेको भए पहिचान गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा संपर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० असार २५ गते सोमबार