19 June 2024  |   बिहिबार, असार ७, २०८१

पत्रकारका लागि व्यावसायिक सुरक्षा माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार २४, २०८०  

रुकुम पश्चिम । पत्रकारको हकहित तथा व्यावसायिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । आइतबार केन्द्रीय अध्यक्ष पोखरेलले १४ बुँदे ज्ञापनपत्र बुझाइएको हो ।

पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा निरन्तर र सहजरुपमा गरिनपुर्ने, फेलोसीपको अवसरमा मोफसलका पत्रकारलाई प्राथमिकता दिनुपर्ने, पत्रकारिता विषयमा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिनुपर्ने र विभिन्न देशमा हुने पत्रकारिता क्षेत्रसँग सम्बन्धित तालिममा सहभागी हुने पत्रकार काठमाडौं केन्द्रित मात्रै नभइ सबै प्रदेशको सहभागितालाई जोड दिनुपर्ने माग गरिएको जिल्ला अध्यक्ष लक्ष्मण केसीले जनाए ।

‘पत्रकारिता क्षेत्रमा २५ वर्ष काम गरेका पत्रकारका लागि पेन्सनको व्यवस्था गर्न पहल गरिनुपर्ने, जिल्लाका विज्ञापन स्थानीयस्तरका मिडियालाई नै दिनुपर्ने नीतिगत व्यवस्थाका लागि पहल गर्नुपर्ने, पत्रकार महासंघका जिल्ला शाखाको संस्थागत विकासका लागि पहल गरिनुपर्छ,’ अध्यक्ष पोखरेलले बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘जिल्लास्तरमा विभिन्न विधामा पत्रकारको क्षमता विकासका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने, पत्रकारको न्यूनतम पारिश्रमिक तोकिएबमोजिम उपलब्ध गराउन कडाइका साथ पहल गर्नुपर्ने र यसअघि महासंघबाट प्रदान गरिँदै आएका विभिन्न विधाका पुस्कारलाई निरन्तरता दिनुपर्छ ।’

त्यसैगरी नेपाल पत्रकार महासंघले सञ्चालन गरेको सदस्यता शुद्धिकरण अभियानलाई कडाइका साथ लागु गरिनुपर्ने, मोफसलका सञ्चार माध्यम निरन्तर सञ्चालनका लागि लोक कल्याणकारी विज्ञापनको दायरा बढाइनु पर्ने, पछिल्लो समय प्रभावकारी बन्दै गइरहेको अनलाइन मिडियाको उचित व्यवस्थापन तथा लोककल्याणकारी विज्ञापनका लागि पहल गरिनुपर्ने र देशभरि मिडिया साक्षरता अभियान सञ्चालन गरिनुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै केन्द्रीय अध्यक्ष पोखरेलले जिल्ला शाखाले उठान गरेका माग पूरा गर्ने प्रतिबद्धता जनाए । पत्रकारको हकहितका लागि महासंघले धेरै काम गरिसकेको र केही पूरा गर्न बाँकी रहेको उनको भनाइ छ ।

प्रकाशित मितिः आइतवार, असार २४, २०८०     6:13:30 PM  |