कोहलपुर टेक्निकल कलेजमा ब्रिज कोर्स अध्ययनरत विद्यार्थीहरूको बिदाइ



बाँके ।

कोहलपुर टेक्निकल कलेजमा ब्रिज कोर्स अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गरिएको छ । शनिबार कोहलपुरमा एक कार्यक्रमको आयोजना गरेर कलेजले विद्यार्थीहरूको बिदाइ गरेको हो । लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) को प्रमुख आथित्यतामा ब्रिज कोर्स अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गरिएको कलेजका प्रबन्धक निर्देशक श्याम सिङले जानकारी दिए ।

‘एसईईको रिजल्ट प्रकाशित भएपछि विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै ब्रिज कोर्स अध्ययनरत गरिरहेकालाई बिदाइ गरेका हौं,’ उनले भने, ‘हाम्रो कलेजमा अध्ययनरत सबै विद्यार्थीहरूले राम्रो ग्रेड ल्याएर एसईई उत्तीर्ण हुनुभएको छ । थप शैक्षिक यात्राको लागि समेत हामी शुभकामना दिन चाहान्छौं ।’

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद नमुनाले दबाबमा भन्दा पनि आफ्नो रोजाइमा रहेको विषय पढ्न आग्रह गरिन् । ‘एसईई परीक्षामा उत्तीर्ण हुनुहुने सम्पूर्ण भाइबहिनीहरूलाई शुभकामना दिन चाहान्छुँ,’ उनले भनिन्, ‘अब आफूले पढ्ने विषय रोज्दा अरूको लहैलहैमा लागेर होइन, आफूलाई मनपर्ने विषय पढ्न आग्रह गर्दछुँ ।’

सांसद नमुनाले आफ्नो क्षमता आफैँले पहिचान गरेर विषय छान्दा सफल भइने सुझाव विद्यार्थीहरूलाई दिइन् । कोहलपुरमा २०६८ सालमा स्थापना भएको कोहलपुर टेक्निकल कलेजले ब्रिज कोर्स पढ्नेहरूलाई सहज बनाएको शिक्षक अर्जुन पौड्यालले जानकारी दिए ।

‘१२ वर्षको अवधिमा कलेजले आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसकेको छ,’ उनले भने, ‘एसईई उत्तीर्ण विद्यार्थीहरूलाई कसैको करकापमा भन्दा पनि आफूलाई मनपर्ने विषय रोजेर पढ्न आग्रह गर्छुँ ।’

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, विभिन्न खेल, सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । विजेताहरूलाई सम्मान तथा पुरस्कारसमेत वितरण गरिएको कोहलपुर टेक्निकल कलेजले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २४ गते आइतबार