तिलक गाउँले । नेपालगन्ज ।
नेपालगन्ज उद्योग वाणिज्य संघको साउन २० गते हुने निर्वाचनमा टंकसिंह धामी र ललित रौनियारको प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । अध्यक्षका दुवै प्रतिस्पर्धी यतिबेला आआफ्नो प्यानल बनाउन दौडधुपमा छन् । स्पष्टरुपमा नदेखिएका समूहलाई आफूसँग तान्न मुख्यप्रतिस्पर्धी प्यानलका अगुवाले निरन्तर गरिरहेको वार्ता र छलफलले संघको निर्वाचनको ‘गर्मी’ चर्कोरुपमा बढाएको छ ।
नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले अध्यक्षमा रौनियारलाई अघि सारेको छ भने मुख्यरुपमा नेकपा माओवादी केन्द्र निकट समावेशी प्यानलले धामीलाई । विभिन्न दलगत आस्था राख्ने व्यवसायीलाई समेटेर समावेशी प्यानलले विगतका निर्वाचनमा सहभागिता जनाउँदै आएको थियो । यि दुवैको नेतृत्वमा अन्य प्यानल गठबन्धनका रुपमा सहभागी हुने भएका छन् ।
नेकपा एमाले निकट समावेशी तथा साझा प्यानलले रौनियारसँग गठबन्धन गरेर जाने भएको छ भने संघको निर्वाचनमा प्रभाव पार्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले वाणिज्य उपाध्यक्ष र उपसचिवलगायतका पद लिएर धामी प्यानलसँग गठबन्धन गरेको छ । जनता समाजवादी पार्टी निकट व्यवसायीलाई आफूसँगै जोड्न अध्यक्षका प्रतिस्पर्धी प्यानलले वार्ता र छलफललाई तिव्रता दिएका छन् ।
नेकपा एमाले निकट व्यवसायीहरुले सञ्जय अग्रवालको नेतृत्वमा प्यानल निर्माण गरी निर्वाचनमा होमिने निर्णय गरेका थिए । सोही निर्णयका कारण आउने निर्वाचनमा तीनवटा प्यानल हुने निश्चित जस्तै ठानिए पनि अचानक अग्रवालले अध्यक्ष पदको उम्मेदवारीबाट पछि हट्दै रौनियार प्यानलको उद्योगतर्फको उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
रौनियार प्यानलबाट वाणिज्यतर्फ हरिलाल न्यौपाने निश्चित भएका छन् । महासचिवमा एमाले निकट भीम रानाभाटलाई उठाउने विषय केही दिन अघिसम्म लगभग टुंगो लागिसके पनि दुई दिन यता दुवै उपाध्यक्ष लगिसकेको अवस्थामा महासचिव आफूहरुले लिनुपर्ने आवाज उठेपछि प्रजातान्त्रिक समूहले त्यस विषयमा नयाँ ढंगबाटसमेत छलफल थालेको छ ।
यदी छलफलका रुपमा महासचिव प्रजातान्त्रिक प्यानलले लिने अवस्था आए शिव दाहाल र विष्णु श्रेष्ठमध्ये एकजना उम्मेदवार हुने छन् । यसमा पनि विष्णु श्रेष्ठको बलियो सम्भावना छ । यस अवस्थामा रानाभाटलाई उपमहासचिवमा मनाउन सकिन्छ की भनेर संवाद अगाडि बढे पनि उनी स्वयम्ले भने उपमहासचिवमा उठ्ने सम्भावना नरहेको बताए । रौनियार प्यानलबाट मख्खन धामी निश्चित छन् ।
अध्यक्षका प्रतिस्पर्धी रौनियारले पदका विषयमा छलफल भएको बताउँदै केही दिनमै निष्कर्ष निस्किने बताए । ‘सौहार्दपूर्ण ढंगबाट छलफल भइरहेका छन्,’ उनले भने, ‘हामी अन्तिम निष्कर्षतिर आइपुगेका छौं ।’
धामी नेतृत्वको समावेशी समूहको उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली निश्चित छन् । उनी वर्तमान कार्यसमितिको महासचिव हुन् । कार्यसमिति सदस्यसमेत रहेकी मन्दिरा पाण्डे महिला उपाध्यक्षको प्रमुख दाबेदार हुन् । महासचिवमा बासु भण्डारीको नाममा करिबकरिब कुरा मिलिसकेको छ । समावेशी प्यानलले अन्य उम्मेदवार जसपासँग संवादका आधारमा टुंगो लगाउने भएको छ ।
वार्ता र संवादमै रहेका अध्यक्ष पदका उम्मेदवार धामीले आफूहरुको प्यानलमा सबै दलमा आस्था राख्ने व्यवसायीलाई समेट्ने गरिएको बताउँदै यसपटक पनि त्यसैका लागि संघनरुपमा वार्ता भइरहेको उल्लेख गरे । उनले भने, ‘कुन एउटा दलगतको कुरा होइन सबैलाई समेट्ने गरी र व्यावसायिक हकहितका कुरा गर्नेलाई समेटेका छौं र समेट्छौ ।’
दुवै प्यानल यतिबेला उम्मेदवार चयनकै प्रक्रियामा छन् । केही दिनमै यसको टुंगो लाग्ने हालका महासचिवसमेत रहेका समावेशी प्यानलका उद्योगतर्फका उपाध्यक्ष उम्मेदवार ओलीले बताए । उनले भने, ‘उम्मेदवारी घोषणाको प्रक्रियामा लगभग हामी अन्तिममा आइपुगेका छौं ।’
संघमा शुक्रबारसम्म दुई हजार दुई सयले नयाँ सदस्यता लिएका छन् भने एक हजार दुई सय ८१ जनाले नवीकरण गरेका छन् । निर्वाचनको मिति घोषणा गरिसकेका कारण नयाँ सदस्यता लिन रोकिएको छ । नवीकरण भने असार २७ गतेसम्म गर्न सकिने छ । अघिल्लो निर्वाचनमा तीन हजार तीन सय २५ जना जम्मा सदस्य रहेका थिए भने तीन हजार मत खसेको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघले विधान संशोधन गर्दै महिला उपाध्यक्ष थप गरेको छ भने महासचिव र कोषाध्यक्षलगायत पदमा पहिलोपटक प्रत्यक्षरुपमा निर्वाचन गराउन लागेको छ ।
प्रतिक्रिया दिनुहोस्