14 June 2024  |   शुक्रबार, असार १, २०८१

भैरहवामा यसरी समातिइन् गोरखपुरकी ‘लेडी डन’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २३, २०८०  

रुपन्देही ।

छिमेकी देश भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले चर्चित गीता तिवारीलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।

चोरी, लुट, हत्या आरोप लगायतको घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् । तिवारीलाई रुपन्देही प्रहरीले बिभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मूख्य आरोपी हुन ।

भारत गोरखपुर बस्ने ४३ बर्षिय गीता तिवारीले बैशाख ९ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ बस्ने हेमन्त कुमार हलवाईको घरबाट सुनका गरगहना सहित ५० लाख बराबरको चोरी गरेको घटनामा संलग्न रहेको एसपी विश्वकर्माले बताए ।

यस्तै बैशाख २३ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ बस्ने डाक्टर नरेन्द्र चौधरीको घरबाट सुन चाँदीका गहना, ल्यापटप र ३ लाख ८० हजार रुपैया चोरी गरेको, जेठ ३ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ बस्ने हुमनाथ पाण्डेको घरबाट ६० हजार नगद सहित ल्यापटप, मोबाईल, सुनको औठी चोरी गरेको आरोप प्रहरीले लगाएको छ ।

पक्राउ परेकी तिवारीलाई चोरी तथा डाका सम्बन्धि कसुरमा ५ दिन म्याद थप गरि अनुसन्धान भईरहेको उनले बताए । यस्तै हातहातियार तथा खरखजाना सम्बन्धि कसुरमा समेत अनुसन्धान भईरहेको विश्वकर्माको भनाई छ । तिवारीका समूहका अन्य सदस्यहरुको समेत खोजी भईरहेको उनले बताए ।

तिवारीकै समूहले असार ११ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ बस्ने श्याम सुन्दर अग्रवालको घरबाट सुनको गहना, ल्यापटप मोबाईल लगायत नगद १ लाख १५ हजार लुटेको प्रहरीको दावी छ । प्रहरीले तिवारीलाई सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ बस्ने दिपक यादवको घरबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले तिवारीबाट कटुवा पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, केएफ ७ दशमलव ६५ लेखेको गोली ३ राउण्ड, २ वटा खुकुरी, १ वटा चक्कु, सलाई रिन्च ३ वटा, छिनो १ वटा, एक वटा मोटरसाईकल, भारतीय नम्बर प्लेट भएको स्कुटि १ वटा, ग्यासकटर, ७ हजार ६ सय ६५ नेपाली रुपैया र ५ हजार ४ सय ४५ भारतीय रुपैया बरामद भएको एसपी बिश्वकर्माले बताए ।

प्रकाशित मितिः शनिबार, असार २३, २०८०     12:36:26 PM  |