नेपालगन्ज ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा बाँकेले सुधार गरेको छ । नियमित पठनपाठन, स्थानीय तहको शिक्षामा बढ्दो लगानी र सुधारोन्मुख शिक्षण सिकाइले बाँकेमा अघिल्ला वर्षहरुभन्दा २०७९ को एसईई परीक्षाको नतिजामा सुधार आएको हो ।
२०७९ को परीक्षामा ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीको संख्या उल्लेख्य छ । यस वर्षको नतिजामा तीन सय १७ जनाले सबैभन्दा माथिल्लो ग्रेड (३.६० देखि ४ जीपीए) ल्याएका छन् । ३ दशमलब ५१ प्रतिशत विद्यार्थीले राम्रो जीपीए ल्याएका जिल्ला शिक्षा समन्वय ईकाइ बाँकेले जनाएको छ । २०७९ सालको एसईई परीक्षामा नौ हजार २३ जना परीक्षार्थी सहभागी थिए ।
एक हजार एक सय ९४ जनाले ३ दशमलब ६ जीपीए, एक हजार तीन सय ३२ जनाले ३ दशमलब २ जीपीए, एक हजार तीन सय ९८ जनाले २ दशमलब ८ जीपीए र एक हजार सात सयजनाले २ दशमलब ४ जीपीए ल्याएका छन् । त्यस्तै एक हजार आठ सय १९ जनाले २ जीपीए, नौ सय ३१ जनाले १ दशमलब ६ जीपीए, ९३ जनाले १ दशमलब २ जीपीए र सातजना विद्यार्थीले ० दशमलब ८ जीपीए ल्याएका शिक्षा समन्वय ईकाइ बाँकेले जनाएको छ ।
बाँकेमा गत वर्षभन्दा यसपटक एसईईको नतिजा सुधारोन्मुख रहेको शिक्षा समन्वय ईकाइ बाँकेका सूचना अधिकारी उद्धब श्रेष्ठले बताए । २०७८ को परीक्षामा नौ हजार एक सय ५० जना विद्यार्थी सहभागी थिए भने जसमध्ये एक सय १७ ले ४ जीपीए ल्याएका थिए । त्यस्तै सात सय ८० जनाले ३ दशमलब ६ जीपीए प्राप्त गरेका थिए । बाँकेमा सबैभन्दा धेरै अंक कसले ल्यायो भन्ने विद्यालयका आआफ्नै दाबी रहे पनि त्यसको आधिकारिक पत्ता लगाउन केही दिन समय लाग्ने सूचना अधिकारी श्रेष्ठले जनाए ।
परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको एसईई कक्षा १० को परीक्षाफल प्रकाशित गरेको थियो । बोर्डले यस वर्ष अन्तिमपटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मक अंक जोडेर परीक्षाफल प्रकाशित गरेको हो ।
२०७२ सालको पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ तथा २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्